आज धनतेरसको लागि सुनको असर्फी बिक्री गर्दै राष्ट्र बैंक

आज धनतेरसको लागि सुनको असर्फी बिक्री गर्दै राष्ट्र बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले धनतेरसको दिन (आज) सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक व्यक्तिलाई एक थान सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्ने जनाएको छ ।

राष्ट्र बैंकको टक्सार महाशाखाले आज २.५ ग्राम तौलका सुनको असर्फी बिक्री गर्ने जनाएको छ । आज बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उक्त असर्फी बिक्री गरिनेछ । सुनको असर्फीको मूल्य भने सोही दिनको बजार मूल्यका आधारमा निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी राष्ट्र बैंकले १० तथा २५ ग्रामको चाँदीको सिक्का आइतबारदेखि नै बिक्री गर्न थालेको छ । कार्तिक १४ गतेसम्म सिक्का बिक्री हुने केन्द्रीय बैंकले जनाएको छ। चाँदी सिक्काको मूल्य तौल र डिजाइन अनुसार २२०० देखि ८५७५ रुपैयाँसम्म तोकेको छ ।

सुन तथा चाँदीको सिक्का, मेडालियन तथा असर्फी किन्न क्युआर कोडमार्फत भुक्तानी गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।सुनका असर्फी र चाँदीको सिक्का खरिद गर्न ग्राहकले अनिवार्य रुपमा नक्कल नागरिकता वा सो खुल्ने प्रमाण र सोको प्रतिलिपिसहित उपस्थित हुनुपर्नेछ । धनतेरसलाई तिहारको आगमनका रुपमा लिइन्छ । यो दिन मानिसहरुले सुनचाँदीका सिक्काका साथै केही न केही नयाँ सामान जोड्ने गर्छन् ।