काठमाडौं – कायम मुकायम गभर्नर डा. निलम ढुंगानाले नेपालको अर्थतन्त्र चलायमान बनाउनका लागि नेपाल राष्ट्र बैंकले लचिलो नीति लिइरहेको बताएकी छिन् । नेपालको अर्थतन्त्रको बाह्य सूचक सबल र सकरात्मक हुँदा आन्तरिक अर्थतन्त्र चलायमान बन्न सकेको छैन । यही तथ्यलाई मध्यनजर गर्दै लचिलो नीति लिइरहेको बताएकी हुन् ।
उनले बाह्य सूचक सबल स्थितीमा रहेपनि आन्तरिक अर्थतन्त्र भने सोचेजति सकरात्मक नभएको बताइन् । ‘अर्थतन्त्रका बाह्य सूचक र आन्तरिक सूचक अन्तरआबद्ध छन्,’ उनले भनिन्, ‘विदेशमा पढ्न र रोजगारीका लागि जानेको लर्को लागेको छ ।’ विमानस्थलमा विरक्त लाग्ने स्थिती रहेको बताउँदै उनले सोहीकारण नेपालको आन्तरिक माग खस्केको उल्लेख गरिन् ।
‘सबै युवाअवस्थाका मानिसहरु अध्ययन र रोजगारीका शिलशिलामा विदेश जाँदा नेपालको माग खस्केको र अर्थतन्त्र सुस्ताएको छ,’ डा. ढुंगानाले भनिन्, ‘यसबीचमा सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि काम भइरहेको छ । मौद्रिक नीति बनाउँदा नै सबै पक्षसँग समन्वय गरिएको थियो ।’
मौद्रिक नीतिमा सहजीकरण गर्नका लागि राष्ट्र बैंकले नीतिगतदर घटाउँदा ब्याजदर खुम्चिएको उनको भनाइ छ । यस्तै, निर्माण व्यवसायीका लागि सहजीकरण गर्नका लागि नीति ल्याउनुका साथै बैंकको पूँजीमा सहजीकरणका लागि विभिन्न उपायको व्यवस्था गरेको ढुंगानाको भनाइ छ ।
ब्याजदरका कारण अर्थतन्त्रलाई चलायमान बनाउन सबै उपाए राष्ट्र बैंकले लिएको डा. ढुंगानाको भनाइ छ । यस्तै, राष्ट्र बैंकले ‘वर्किङ क्यापिटल गाइडलाइन्स’मार्फत नीतिलाई कसिलो बनाएको बताउँदै भनिन्, ‘वकिङ क्यापिटल गाइडलाइन्स सबै पक्षसँगको सुझावपछि ल्याइएको थियो । कार्यान्वयनमा गएपछि धेरै सुझाव लिँदै सहजीकरण समेत गरेका छौं ।’
प्रतिक्रिया