समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु


काठमाडौं – समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘आईसीआईआई २०२४’ आज कात्तिक ६ गते देखि काठमाडौंमा सुरु भएको छ । नेपाल बीमा प्राधिकरण, नेपाल बीमक संघ, जीवन बीमक संघ र नेपाल माइक्रोइन्स्योरेन्स एसोसिएसनद्वारा म्युनिख रे फाउण्डेशन तथा माइक्रोइन्स्योरेन्स नेटवर्कसँगको सहकार्यमा सो सम्मेलनको २० औं संस्करण आयोजना गरिएको हो ।

कत्तिक ९ गतेसम्म हुने सम्मेलनमा न्यून आय भएका तथा जोखिममा रहेका परिवारहरू तथा लघु, साना र मझौला उद्योगलाई केन्द्रित गरी समावेशी बिमालाई परिष्कृत गर्ने लगायतका विषयमा विस्तृत छलफल हुनेछ ।

यसैगरी, जलवायु जोखिम बीमा, लघुबीमामा डिजिटल प्रविधि अवलम्बन र समावेशी बीमाका क्षेत्रका आइपर्ने अवरोधहरू हटाउने सम्बन्धी रणनीतिहरू लगायतका विषयमा सहभागीहरुबीच छलफल केन्द्रित हुनेछ । 

सम्मेलनमा नेपाल लगायत विभिन्न देशका बीमा क्षेत्रका नियामक निकाय, विभिन्न निकाय, विकास साझेदार, गैरसरकारी संस्था र बीमा क्षेत्रका विज्ञहरु गरी चार सयभन्दा बढीको सहभागिता रहेको छ ।

समाजमा आर्थिक रुपमा पछाडि परेका वर्ग र लघु साना तथा मझौला उद्योगहरूको वित्तीय जोखिम न्यूनीकरणका लागि समावेशी बीमालाई अगाडि बढाउने सम्बन्धमा सम्मेलन कोशेढुंगा साबित हुने विश्वास गरिएको छ ।