सिटिजन्स बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, मुख्य एजेन्डामा के–के छन् ?


काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सञ्चालक समितिको असोज २० गते बसेको बैठकले १८ औं वार्षिक साधारण सभा कात्तिक १२ गतेलाई बोलाउने निर्णय गरेको हो । निर्णय अनुसार सभा काठमाडौंकाे डिल्लीबजारमा रहेको अमृतभोगमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

सभाले आर्थिक वर्ष २०८०।८१ को वितरणयोग्य मुनाफाबाट २०८१ असार मसान्तको चुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

जसमा ४ प्रतिशतले हुन आउने ५६ करोड ८० लाख ३८ हजार ९६०.२३ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशतले हुन आउने २ करोड ९८ लाख ९६ हजार ७८७.३८ रुपैयाँ बराबरको नगद लाभांश छन् । सिटिजन्स बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्न र गाभिने र प्राप्तिका लागि आवश्यक सम्पूर्ण कार्य गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ । बैंकको प्रबन्धपत्रमा संशोधन, बैंकको जारी पुँजी र चुक्तापुँजी वृद्धि गर्ने सम्बन्धमा र बैंकको शेयरको किसिम सम्बन्धमा प्रस्तावित व्यवस्थाहरु सभाले पारित गर्नेछ ।

सभाले नियमावली संशोधनको प्रस्ताव अनुमोदन गर्नुका साथै अग्राधिकार शेयर जारी गर्नेसम्बन्धी विशेष प्रस्ताव स्वीकृति गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ । लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले यही असोज २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।