सुनसरी – सुनसरीको चतरास्थित सप्तकोसी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ । नदीमा जलसतह र बहाव घट्दै गएपछि सोमबार पुनः सञ्चालन सुरु गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए ।
केही समयअगाडि वर्षाका कारण जल सतह उच्च भएसँगै असुरक्षा हुने भएकाले सेवा बन्द गरिएको थियो । उनले भने, ‘चाडवाडको समयमा यात्रुहरु आवतजावत सहज बनाउने उद्देश्यले तत्कालका लागि सेवा सुरु गरिएको हो ।’
हाल सुनसरीको चतरादेखि बराह क्षेत्र हुँदै भोजपुरको सीमाना हतुवागढीसम्म जेटबोट सञ्चालन हुँदै आएको छ । जेटबोट सञ्चालन भएसँगै भोजपुरलगायत क्षेत्रका सर्वसाधारणलाई आउजाउ गर्न सहज हुने अपेक्षा गरिएको उनले बताए ।
सोमबार विहान सुनसरीको चतरास्थित सप्तकोशी नदीमा पुगेर प्रजिअ तिवारीसँगै सुनसरीका प्रहरी उपरीक्षक सुमन तिमल्सिना, राष्ट्रिय अनुसन्धान विभाग सुनसरीका उपअनुसन्धान निर्देशक तुल्सी कट्टेललगायतले निरीक्षण गरेका थिए ।
प्रतिक्रिया