बैंकिङ्ग समाचार, काठमाडौं ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा सामान्य घटेको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ४३ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.८३ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५१ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासकाे तुलनामा सञ्चालन मुनाफा बढेको भएपनि कम खराब कर्जा उठाएका कारण लघुवित्तको नाफा घटेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३.४७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २.४२ प्रतिशत बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा २३.४० प्रतिशत बढेको छ । यद्यपि, समीक्षा अवधिमा ७ करोड ८ लाख १२ हजार रुपैयाँ मात्र खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको नाफा घट्न पुगेको हो ।
नाफा घटेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १७ रुपैयाँ ८४ पैसा घटेर ४१ रुपैयाँ ९१ पैसामा झरेको छ । चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २५.९१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ १७ पैसा रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २० प्रतिशत बढेको छ भने जगेडा कोष २८.५० प्रतिशत बढेको छ । लघुवित्तको सापटी ५.१३ प्रतिशत, निक्षेप २२.४९ प्रतिशत र कर्जा १५.८२ प्रतिशत बढेको छ ।
प्रतिक्रिया