काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप संकलन १ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकको असोज १७ गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६५ खर्ब ७ अर्ब निक्षेप संकलन भएको छ । असोज १६ गते भने बैंकिङ्ग प्रणालीमा ६५ खर्ब ६ अर्ब निक्षेप संकलन भएको थियो ।
यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप संकलन भने स्थिर रहेको छ । असोज १६ गते ५८ खर्ब ८० अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकले १७ गतेपनि सोही रकम बराबरको निक्षेप संकलन गरेका छन् ।
सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा भने सामान्य गिरावट देखिएको छ । असोज १६ गते ५२ खर्ब ५८ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले १७ गते ५२ खर्ब ५७ अर्ब कर्जा प्रवाह गरेका छन् ।
त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा प्रवाहमा पनि १ अर्बकै गिरावट देखिएको छ । गत १६ गते ४६ खर्ब ५५ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले १७ गते ४६ खर्ब ५४ बराबरको कर्जा प्रवाह गरेका छन् ।
राष्ट्र बैंकको तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ । साथै, राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८ .२० प्रतिशत कायम भएको देखाएको छ ।
प्रतिक्रिया