जोखिम न्यूनीकरणमा प्रविधिको प्रयोग बढाउँदै बैंक तथा वित्तीय संस्था, बढ्दै खर्च

जोखिम न्यूनीकरणमा प्रविधिको प्रयोग बढाउँदै बैंक तथा वित्तीय संस्था, बढ्दै खर्च


काठमाडौं – बैंक तथा वित्तीय क्षेत्रमा प्रविधिको प्रयोग उल्लेख्य वृद्धि भएसँगै खर्च समेत बढ्न थालेको देखिएको छ । बैंक तथा वित्तीय संस्थाले आवश्यकताअनुसार आफ्ना सेवाग्राहीलाई सहज सेवा दिनका लागि नयाँ प्रविधि भित्र्याउदै गएका छन् । यससँगै बैंकहरुको खर्च समेत बढ्न पुगेको हो ।

बैंकिङ्ग क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै जाँदा बैंकहरुले नयाँ÷नयाँ प्रणाली र सफ्टवेयरमा लगानी गर्नुपर्ने हुँदा खर्चका वृद्धि हुने गरेको तथ्यांकमा देखिन्छ । बैंकहरुमा आएका प्रविधिमा देखिने समस्या समाधानका लागि पनि छुट्टै निकाय स्थापना गरी थप जनशक्ति राख्नुपर्दा पनि खर्च बढ्छ । प्रविधिका साथै प्रविधिहरूको प्रयोगले गर्दा सुरक्षामा आउने खतरामा पनि बैंकहरुले ध्यान दिनुपर्ने हुँदा सुरक्षामा पनि अतिरिक्त खर्च लाग्ने गर्छ ।

हाल बैंकहरुबिच व्यवसाय कसले बढाउने जस्तै प्रतिस्पर्धा कसले राम्रो प्रविधि भित्र्याउने भन्नेतर्फ छन् । बैंकहरुबिच प्रविधि भित्र्याउने विषयमा प्रतिस्पर्धा बढ्दै जाँदा अनुभवि कर्मचारी र मार्केटिङ्गमा पनि लगानी बढाउनुपर्ने अवस्था आएको छ । बैंकहरुले प्रविधिमा पनि प्रतिस्पर्धा गर्दा व्यावसायिकता र प्रतिस्पर्धामा टिक्नका लागि अझै बढी खर्च हुने विज्ञहरु बताउँछन् ।

बैंकहरुले भित्र्याएका नयाँ प्रविधिहरूमा काम गर्नका लागि कर्मचारीहरु पहिलादेखि नै सक्षम हुँदैनन् । प्रविधिमा काम गर्न कर्मचारीलाई विभिन्न तालिमहरुको आवश्यकता पर्छ । जसमा समेत बैंक तथा वित्तीय संस्थाको अतिरिक्त खर्च बढ्छ । बैंकिङ्ग क्षेत्रमा प्रविधिको बढ्दो प्रयोगले विभिन्न तरिकामा बैंकहरूको लागतमा असर गर्ने गरेको पछिल्लो तथ्यांकहरुमार्फत देखिन्छ ।

तर, तत्कालका लागि प्रविधिमा जोड दिँदा बैंकहरुको खर्च बढेपछि दिर्घकालमा यसले बैंकहरुको खर्च कटौतीमा सहयोग पुग्छ नै । दक्षता र उत्पादनशीलता बढाउदा खर्च घट्ने र आम्दानीमा सुधार हुने बैंकरहरुको बुझाई छ । नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर चिरञ्जीवी नेपाल पनि प्रविधिले खर्च बढ्ने कुरा स्वीकार्छन् । ‘प्रविधि भित्र्याउदा सुरुमा बैंकहरुको खर्च बढ्छ र विस्तारै घट्न थाल्छ,’ बैंकिङ्ग समाचारसँग उनले भने, ‘बैंकहरुमा त्यतिका पैसा राखेपछि जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग त गर्नैपर्यो नि ।’

उनले छिटोछरितो बैंक तथा वित्तीय क्षेत्र विस्तारका लागि पनि प्रविधिको प्रयोग गर्नुपर्ने बताए । उनले प्रविधिले भविष्यमा खर्च कम गर्नुका साथै अमेरिकामा केही समय अघिसम्म १६ हजार बैंक वित्तीय संस्था रहेकामा मर्जरमा गएर ८ हजार हुँदै ४ हजार ९८३ वटामा झरेको बताए । अमेरिकामा पनि प्रविधिको प्रयोग गर्न सफ्टवेयर किन्न महंगो पर्ने हुँदा बैंकहरु मर्ज गरेर नै प्रविधि भित्र्याएको विज्ञहरुको बुझाई छ ।

बैंकहरुमा प्रयोग हुने प्रविधिहरु महँगो हुने हुँदा बैंकहरु प्रविधि भित्र्याउन पनि मर्जरमा गएको उनले बताए । पूर्वगभर्नर नेपाल हाल बैंकहरुको मर्जको कारण पनि प्रविधि नै रहेको बताउँछन् । उनले प्रविधिले असजता पार्ने भन्दा पनि सहजता दिलाउने काम गर्ने उनको बुझाई छ । उनले बैंकिङ्ग क्षेत्रमा भित्रिएका प्रविधिले वित्तीय बिस्तार हुने, खर्च कम हुने, बैंक वित्तीय संस्था डुब्नबाट जोगिने, जोखिम कम हुने र लागत पनि कम हुने उल्लेख गरेका छन् ।

बैंकिङ्ग क्षेत्रमा बढ्दो प्रविधि प्रयोगले ग्राहकहरूले मोबाइल एप्स र अनलाइन सेवाहरूका कारण बैंकिङ्ग कार्यलाई सहजता प्रदान गर्ने विज्ञहरुको बुझाई छ ।

नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्मा बैंकहरुमा प्रविधि बढ्दै जाँदा खर्च बढ्नु स्वभाविक भएको बताउँन् । उनकाअनुसार प्रविधि भित्र्याउँदा सिस्टम, सफ्टवेयर, हार्डवेयरहरु खरिद लगायतका कुराहरु आउने हुँदा खर्च बढ्नु सामान्य हो । ‘प्रविधिसँगै खर्च बढेर आउँने भन्ने कुरा स्वभाविक नै हो’ उनले बैंकिङ्ग समाचारसँग भने ।