करिब १०% ले घट्यो सबैको लघुवित्तको खुद नाफा

करिब १०% ले घट्यो सबैको लघुवित्तको खुद नाफा


बैंकिङ्ग समाचार, काठमाडौं ।
सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा खुद नाफा ९ दशमलव ७५ प्रतिशत कम भएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले रू. ७ करोड १५ लाखभन्दा बढी खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको यो नाफा रू. ७ करोड ९२ लाखभन्दा बढी थियो ।

यस वर्ष कम्पनीको सञ्चालन नाफा १२ दशमलव ५० प्रतिशत बढी रू. ९ करोड १४ लाखभन्दा बढी भएको छ । यस वर्ष कम्पनीको खराब कर्जा संकलन घटेकाले खुद नाफामा कमि आएको हो । गत वर्ष रू. ४ करोड ४४ लाखभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष रू. २ करोड २० लाखभन्दा बढी मात्र संकलन गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. २७ करोड रहेको छ । जगेडा कोष रकम गत वर्ष भन्दा ४२ प्रतिशत बढी रू. १३ करोड २३ लाखभन्दा बढी कायम भएको छ । कम्पनीले गत वर्षभन्दा यस वर्ष ३६ दशमलव ४३ प्रतिशत बढी रू. २ अर्ब ९६ करोड कर्जा सापटी लिएको छ भने ४६ दशमलव ७६ प्रतिशत बढी रू. ४ अर्ब ५५ करोड कर्जा प्रवाह गरेको छ । 

यस वर्ष कम्पनीको निक्षेप संकलन गत वर्षभन्दा करिब ५३ प्रतिशत बढी रू. १ अर्ब २५ करोड भएको छ । गत वर्ष १ दशमलव ६१ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष १ दशमलव ३३ प्रतिशतमा झरेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ३५ दशमलव ३३ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४९ दशमलव शून्य ४ छ ।