जीवन विकास लघुवित्तको ९ महिनाको नाफा करिब ५८ करोड पुग्यो

जीवन विकास लघुवित्तको ९ महिनाको नाफा करिब ५८ करोड पुग्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
चालू आर्थिक वर्षको ९ महिनासम्म जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ५७ करोड ७५ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा २ दशमलव ४२ प्रतिशत बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा रू. ५६ करोड ३९ लाखभन्दा बढी थियो । यस वर्ष कम्पनीको सञ्चालन नाफा भने ७१ दशमलव ६२ प्रतिशत बढी रू. ५० करोड २६ लाखभन्दा बढी भएको छ ।

गत वर्षभन्दा यस वर्ष खराब कर्जा संकलन ५१ प्रतिशत घटेकाले खुद नाफामा राम्रो बृद्धि हुन नसकेको हो । गत वर्ष रू. ५६ करोड ९६ लाख खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष रू. २७ करोड ८६ लाखभन्दा बढी मात्र यो कर्जा संकलन गरेको हो । सम्भावित जोखिम शिर्षकमा पनि यस वर्ष कम्पनीले गत वर्षभन्दा ३३ दशमलव ७६ प्रतिशत कम रू. ३५ करोड २१ लाख मात्र छुट्याएको छ ।

आईपीओ र ७० प्रतिशत बोनस शेयर मार्फत पूँजी बृद्धि गरी रू. १ अर्ब ३ करोड ४२ लाख ८० हजार कायम गरेको कम्पनीको जगेडा कोष रकम रू. १ अर्ब ३३ करोड ७१ लाखभन्दा बढी रहेको छ ।

गत वर्षभन्दा यस वर्ष कम्पनीको कर्जा सापटी ३ दशमलव ४९ प्रतिशत कम भएको छ भने कर्जा प्रवाह १३ दशमलव ७३ प्रतिशत बढेको छ । यस वर्ष कम्पनीले रू. ९ अर्ब ८२ करोड ४ लाख कर्जा सापटी लिएको हो भने रू. २२ अर्ब ८३ करोड ४७ लाख कर्जा प्रवाह गरेको हो । निक्षेप संकलन भने गत वर्षभन्दा १६ दशमलव ४९ प्रतिशत बढी रू. ९ अर्ब ५४ करोड ८ लाख भएको छ ।

गत वर्ष शून्य दशमलव ६० प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष शून्य दशमलव ८३ प्रतिशत कायम भएको छ । कम्पनीको तेस्रो त्रैमाससम्मको प्रतिशेयर आम्दानी रू. ७४ दशमलव ४६ र प्रतिशेयर नेटवर्थ रू. २४७ दशमलव ८९ रहेको छ ।

देशभरका २१ जिल्लाहरुमा १४६ ओटा शाखा कार्यालयमार्फत कम्पनीले ३ लाख २९ हजारभन्दा बढी घरपरिवारमा वित्तीय सेवा पुर्‍याईरहेको छ ।