साउनमा शोधनान्तर स्थिति र चालु खाता दुवै बचतमा


काठमाडौं – मुलुकको चालु खाता र शोधनान्तर स्थिति बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिना साउनको तथ्यांकले यस्तो देखाएको हो।

समीक्षा अवधिमा चालु खाता ३० अर्ब ८९ करोड रूपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १३ अर्ब ३७ करोड रूपैयाँले बचतमा थियो।

समीक्षा अवधिमा बढेको रेमिट्यान्स, पर्यटन आगमन र आयात र निर्यातमा आएको सुस्तताले शोधनान्तर स्थितिमा सुधार आएको हो । 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १० करोड १३ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ४ लाखले बचतमा रहेको छ। समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर २२ करोड ३२ लाख रूपैयाँ कायम भएको छ भने प्रत्यक्ष वैदेशिक पुँजी लगानी आप्रवाह ७९ करोड ९८ लाख रूपैयाँ रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर २७ करोड २६ लाख रूपैयाँ कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटी मात्र) २ अर्ब ६५ करोड रूपैयाँ रहेको थियो।

समीक्षा अवधिमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोड रूपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३६ अर्ब ४३ करोड रूपैयाँले बचतमा थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ६३ लाख रूपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३० करोड ५१ लाख रूपैयाँले बचतमा रहेको केन्द्रीय बैंकद्वारा सार्वजनिक तथ्यांकमा उल्लेख छ ।