महामारीमा विमान कम्पनीहरुको ‘ब्रम्हलुट’, बाहनाबाजी गर्दै बढाए हवाई भाडा

महामारीमा विमान कम्पनीहरुको ‘ब्रम्हलुट’, बाहनाबाजी गर्दै बढाए हवाई भाडा


काठमाडौं – एयरलाइन्स कम्पनीहरुले बिहीबार रातीदेखि परेको भिषण बाढीलाई कमाउने अवसरकारुपमा लिएका छन् । यतिबेला भिषण वर्षाका कारण देशका सबैजसो राजमार्गमा क्षती पुगेको छ । यही क्षतीलाई एयरलाइन्स कम्पनीहरुले कमाउने अवसरकारुपमा लिएका हुन् ।

नेपाल प्रहरीका अनुसार राजधानीलाई जोड्ने सबैजसो राजमार्ग अवरुद्ध छन् । कम्तिमा पनि देशका तीन दर्जन स्थानमा सडकमार्ग अवरुद्ध भएका छन् । यही मौकामा एयरलायन्स कम्पनीले असुल धन्दा चलाएका हुन् ।

सबैजसो सडकमार्ग अवरुद्ध बन्दा हवाई कम्पनीहरु खुलम्खुल्ला यात्रु ओसारिरहेका छन् । तर, विपत्तीको समयमा सहज गर्नुपर्ने अवस्थामा मौकाको फाइदा उठाउँदै सबैजसो हवाई कम्पनीहरुले भाडावृद्धि गरेका हुन् ।

कम्पनीहरुले हवाई भाडालाई ४ हजार रुपैयाँसम्म बढाएका छन् । भाडावृद्धिको खबर सुनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत राेस् व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन्, ‘यस्तो विपत्तीको समयमा यात्रुहरुसँग पहिलेकोभन्दा सहज मूल्यमा वा सोही मूल्य लिनुपर्ने हो ।’

उनले हवाई भाडाको विषयमा पर्यटन मन्त्रालयले निर्णय गरेकाले सोहीअनुसार गर्न समेत भनेका छन् । नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता मुरलीधर जोशी भने कम्पनीहरुले भाडा नबढाएको बताउँछन् । बैंकिङ्ग समाचारसँगको कुराकानीमा भन्छन्, ‘भाडावृद्धिसँग सम्बन्धीत एउटा प्रक्रिया हुन्छ । एयरलायन्सहरुमा भाडावृद्धिको र्फम्याट छ । सोही र्फम्याटअनुसार चल्छ।’

उनका अनुसार विमान कम्पनीहरुमा ४/५ वटा मूल्यको सूची हुन्छ । सबैभन्दा सस्तोस्तरको टिकट सकिएपछि स्वतः माथिल्लोस्तरको टिकट मूल्य सुरु हुन्छ। उनले अन्तर्राष्ट्रियस्तरमा नै यही तरिकाले भाडा तय हुन्छ नेपालमा पनि सोहीअनुसार भएको हो । तर, कम्पनीहरुले विपत्तीको समयमा विभिन्न बाहानामा गरेको यो व्यवहारको यतिबेला चौतर्फी विरोध भइरहेको छ। विपत्तीमा मानवीयता देखाएर सहजीकरण गर्नुपर्नेमा नाफाखोरी प्रवृत्ति देखाएपछि विरोध सुरु भएको हो ।