कुमारी बैंकले ल्यायो दशैं उत्सव क्यासब्याक अफर


काठमाडौं – कुमारी बैंकले दशैं उत्सव क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ । बैंकका सेवाग्राहीले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गमार्फत वस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम ५०१ रुपैयाँ बराबरको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

अफर घटस्थापनादेखि महानवमीसम्म ९ दिन सञ्चालनमा रहने छ । योजनाअन्तर्गत लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजे देखि बेलुका ११ः५९ बजेसम्म सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीलाई नदोहोरिने गरी क्यासब्याक उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

क्यासब्याकले सेवाग्राहीहरूमा विद्युतीय भुक्तानीका माध्यममार्फत कारोबार गर्न प्रोत्साहन मिल्ने तथा डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । कुमारी बैंकका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ्ग इकाईहरूमार्फत सेवा दिँदै आइरहेको छ ।