विदेशी मुद्रा सञ्चिति २१ खर्ब नजिक, १३.५ महिनाको वस्तु आयात धान्ने


काठमाडौं – नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन २०८१ सम्म २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ बराबर विदेशी विनियम सञ्चिति पुगेको हो । असार मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब रुपैयाँ थियो ।

एक महिनामा २.५ प्रतिशतले विदेशी मुद्रा सञ्चिति बढेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति अब १५ अर्ब ५८ करोड पुगेको छ । असार मसान्तसम्म १५ अर्ब २७ करोड डलर थियो । आव २०८१/८२ को पहिलो महिनाको आयात आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १६. ७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ।

साउनसम्म रहेको विदेशी विनिमय सञ्चिति नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) को अनुपातमा ३६.७ प्रतिशत देखिन्छ । कुल आयातको ११२.५ प्रतिशत र विस्तृत मुद्रा प्रदायसँगको अनुपातमा यसको हिस्सा ३.३ प्रतिशत छ ।

२०८१ साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३६.७ प्रतिशत, ११२.५ प्रतिशत र ३०.३ प्रतिशत रहेका छन। २०८१ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रूपैयाँ रहेकोमा २०८१ साउन मसान्तमा १.९ प्रतिशतले वृद्धि भई १८ खर्ब ८३ अर्ब ४२ करोड रूपैयाँ पुगेको छ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रूपैयाँ रहेकोमा २०८१ साउन मसान्तमा ८.४ प्रतिशतले वद्धि भई २०८ अर्ब ७९ करोड रूपैयाँ कायम भएको छ । २०८१ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ।