साउनमा १ खर्ब १६ अर्ब रूपैयाँ व्यापार घाटा


काठमाडौं – देशकाे व्यापार घाटा १ खर्ब १६ अर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले सो रकम बराबरको व्यापार घाटा भएको देखाएको हो ।

साउनमा कुल वस्तु आयातमा ०.६ प्रतिशतले कमी आई १ खर्ब २८ अर्ब ३८ करोड रूपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १.६ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ४.४ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२.० प्रतिशत र ०.४ प्रतिशतले वृद्धि भएको छ।

समीक्षा अवधिमा कुल वस्तु निर्यात ९.६ प्रतिशतले घटी १२ अर्ब २३ करोड रूपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ८.७ प्रतिशतले कमी आएको थियो। गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फ भएको निर्यातमा क्रमशः १०. ६ प्रतिशत, ५९. ८ प्रतिशत र ३. ५ प्रतिशतले कमी आएको छ।

साउनमा कुल वस्तु व्यापार घाटा ०।४ प्रतिशतले वृद्धि भई १ खर्ब १६ अर्ब १५ करोड रूपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ०.७ प्रतिशतले घटेको थियो ।

साे अवधिमा निर्यात–आयात अनुपात ९.५ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.५ प्रतिशत रहेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ ।