चितवन – पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको घाँटीको क्यान्सरका कारण निधन भएको थियो । नेपालमा अस्पताल नहुँदा विदेशमा उपचार गर्नुपर्ने बाध्यता थियो । बिपीका कान्छा भाइ गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उनले चीन भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्री ली फङ्गसँगको भेटमा नेपालमा क्यान्सर अस्पताल स्थापनाका लागि आग्रह गरेका थिए ।
तत्कालीन समयमा नेपाली काँग्रेस चितवनका सभापति रहेका टेकप्रसाद गुरुङका अनुसार कोइरालाको आग्रहलाई चिनियाँ प्रधानमन्त्रीले स्वीकार गरे र नेपालमा चीनको सहयोगमा एसियाकै नमूना अस्पताल बनाउने अभियान सुरु भयो । विगतलाई सम्झँदै गुरुङले भने, ‘गिरिजाबाबुलाई गणेशमान जीहरुले धुलिखेलमा क्यान्सर अस्पताल स्थापना गर्न सुझाव दिएका रहेछ ।’ नेपालमा क्यान्सर अस्पताल स्थापना गर्ने भन्ने सुनेपछि दलबलसहित प्रधानमन्त्री कोइरालालाई भेट्न गुरुङको टोली पुगेको थियो ।
सुरुमा धुलिखेलको कुरा कोइरालाले गरेपछि गुरुङको समूहले चितवनमा गर्नुपर्ने र जग्गा व्यवस्थापन गर्न सकिने भनेपछि कोइराला सकारात्मक हुनुभएको थियो । गुरुङले भने, ‘गिरिजाबाबुलाई टेकप्रसादले पेल्यो अब सकिन्न भन्नुभयो र यहाँ क्यान्सर अस्पताल आयो ।’ भरतपुरमा बागवानी फार्मको ७५ बिगाहा १० कट्ठा जग्गा रामपुर कृषि क्याम्पसलाई दिइएको थियो । त्यही जग्गा मन्त्रिपरिषद्ले निर्णय उल्ट्याएर क्यान्सर अस्पताललाई दिएको गुरुङ बताउछन्।
यसरी स्थापना भएको क्यान्सर अस्पतालले चितवनका मात्रै होइन, देशभरि र भारत, भूटान, म्यान्मासम्मका बिरामीलाई उपचार सेवा दिँदै आएको छ । गुरुङले भने, ‘यसले चितवनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चिनाउन मद्दत गरेको छ ।’ बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिका अध्यक्ष डा।विजयराज न्यौपाने नेपालमै क्यान्सरको उत्कृष्ट उपचारको केन्द्र यो अस्पताल रहेको बताउछन् । अस्पतालले उपचार त गरेको छ नै यसले यहाँको आर्थिक क्षेत्रलाई समेत चलायमान बनाएको उनी बताउछन् ।
उनले भने, “यहाँबाट दैनिक ३०–४० वटा बस देशका विभिन्न सहरमा पुग्ने गर्दछन् ।” अस्पताल वरपर १५० हाराहारी होटल रेष्टुरेन्ट चलेका छन् भने ६० हाराहारी औषधि पसल छन् । समग्रमा आर्थिक क्षेत्रलाई चलायमान बनाउने काम पनि अस्पतालले गरेको छ । भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष विजय सुवेदी यहाँ क्यान्सर अस्पताल स्थापना हुँदा न्यून बिरामी भरतपुर अस्पताल र मेडिकल कलेजले उपचार दिने गरेको बताउछन् ।
उनको भनाइमा त्यतिबेला बिरामीको खासै चाप हुँदैनथ्यो । क्यान्सर अस्पताल स्थापना भएसँगै निजी अस्पताल खुलेका, देश र विदेशबाट यहाँ बिरामी उपचार गर्न आउने गरेको उनले बताए। यो क्यान्सर अस्पतालले स्वदेश र विदेशससम्म चितवनलाई चिनाएको उनको भनाइ छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल भरतपुरलाई मेडिकल सिटीका रूपमा विकास गर्न क्यान्सर अस्पतालको महत्त्वपूर्ण भूमिका रहेको बताउछिन् । अस्पतालको सञ्चालक समितिमा रहेर सात वर्ष काम गरेको भन्दै उनले यहाँ नेपाल र छिमेकी देशबाट बिरामी आउने गरेको बताइन् ।
यहाँका अन्य अस्पतालमा आएका बिरामीलाई समेत क्यान्सर आशङ्का भएमा उपचार गर्न पाएको उनको भनाइ छ । अस्पतालले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा भरतपुरलाई चिनाएको उनले बताउछिन्। सङ्घीय अस्पताल भए पनि महानगरपालिकाले समेत सहयोग गर्दै आएको भन्दै उनले आगामी दिनमा अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्न सके अझै यसको गरिमा बढ्ने बताइन्।
अस्पतालका कार्यकारी निर्देशक डा।शिवजी पौडेलका अनुसार अस्पतालमा बिरामीको चाप बढ्दै गएको बताउछन् । अस्पतालमा आर्थिक वर्ष २०८०र८१ मा एक लाख ८८ हजार ५१४ बिरामीले बहिरङ्ग विभागबाट सेवा लिएका छन् । यो सङ्ख्या आर्थिक वर्ष २०७९र८० मा एक लाख ६६ हजार २०० रहेको थियो । यस्तै, आर्थिक वर्ष २०७८र७९ मा एक लाख ७४ हजार ९३५ रहेको थियो भने आर्थिक वर्ष २०७७र७८ मा एक लाख ३१ हजार ३०५ रहेको थियो ।
उनका अनुसार सोही अवधिमा अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये नयाँ क्यान्सरका बिरामीको समेत सङ्ख्या बढ्दो रहेको छ । आर्थिक वर्ष २०८०र८१ मा छ हजार ७९५ नयाँ क्यान्सरका बिरामी पहिचान भएको उनले जानकारी दिए । आर्थिक वर्ष २०७९र८० मा यो सङ्ख्या छ हजार ४८० रहेको थियो । यस्तै आर्थिक वर्ष २०७८र७९ मा यो सङ्ख्या छ हजार ५३५ रहेको थियो भने आर्थिक वर्ष २०७७र७८ मा यो सङ्ख्या दुई हजार ९७९ रहेको थियो ।
अस्पतालको विसं २०५७ मा आजकै दिनबाट सेवा सुरु भएको हो । सुरुमा एक सय शय्याबाट सुरु भएको अस्पतालमा अहिले पाँच सय शय्या छन् । आठ सय ५० जना चिकित्सक तथा कर्मचारी कार्यरत छन् । अस्पतालमा बोनम्यारो प्रत्यारोपण बाहेकका सबै खालका क्यान्सरको उपचार हुँदै आएको छ । बोनम्यारो प्रत्यारोपण युनिट पनि चिनियाँ सरकारको सहयोगमा बन्ने क्रममा रहेको छ । साइक्लोटोनसहितको पेट स्क्यान ल्याउने तयारी गरिएको छ ।






About Us
प्रतिक्रिया