बैंकिङ्ग समाचार, काठमाडौं ।
जानकी फाइनान्स लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २५५ दशमलव ६७ प्रतिशत वृद्धि भएको छ ।
कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. १ करोड ४७ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा बढेर रू. ५ करोड २४ लाख पुगेको हो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले खुद नाफा बढ्न टेवा पुगेको हो ।
गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ६६ प्रतिशत र सञ्चालन नाफा २४५ प्रतिशत वृद्धि भएको हो । कम्पनीको चुक्ता पूँजी रू. ६९ करोड ४ लाख रहेको छ भने कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा जगेडामा रू. २० करोड ५१ लाख र रिटेण्ड अर्निङमा रू. ६ करोड २० लाख सञ्चित गरेको हो ।
सो अवधिमा कम्पनीको खुद नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३ दशमलव २८ रहेकोमा चालू आवमा बढेर रू. १० दशलमव १३ पुगेको हो । त्यसैगरी चालू आवमा कम्पनीको मूल्य आम्दानी अनुपात ४३ दशलमव १२ गुणा,तरलता अनुपात २३ दशमलव ८३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३८ दशमलव ६९ रहेको छ ।
प्रतिक्रिया