बैंकिङ्ग समाचार, काठमाडौं ।
चालू आर्थिक बर्षको पहिलो ८ महिनामा कुल वस्तु व्यापार घाटा ३४.५ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ को ८ महिनामा कुल वस्तु आयात ३८.६ प्रतिशतले वृद्धि भई १३ खर्ब ८ अर्ब ७३ करोड पुगेको छ । तर, सोही अवधिमा कुल वस्तु निर्यात ८२.९ प्रतिशतले वृद्धि भई १ खर्ब ४७ अर्ब ७५ करोड रुपैयाँको मात्र हुन पुगेको छ । जसबाट नेपालले ८ महिनामा ११ खर्ब ६० अर्ब ९९ करोड रुपैयाँ व्यापारघाटा व्यहोरेको छ ।
गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १०४.२ प्रतिशत र २९.१ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात ११.० प्रतिशतले घटेको छ । वस्तुगत आधारमा आयातमै आधारित पाम तेल, सोयाविन तेल, पिना, धागो ( पोलिष्टर तथा अन्य), ऊनी गलैंचालगायतका वस्तुको निर्यात बढेको छ । तर नेपाली उत्पादन अलैंची, चिया, जडीबुटीलगायतका वस्तुको निर्यात भने घटेको छ ।
आयाततर्फ नेपालको भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २८.१ प्रतिशत, ३६.७ प्रतिशत र ७५.४ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, कच्चा सोयाविन तेल, सुन लगायतका वस्तुको आयात बढेको छ । तर सो अबधिमा एम.एस.विलेट, सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्फ कन्चनपुर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ । वैदेशिक व्यापार (आठ महिना) निर्यात आयात व्यापार घाटा आयात अनुपात ११.३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.६ प्रतिशत रहेको थियो ।
वृहत्त आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती र अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४७.३ प्रतिशत र ५२.७ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात् ०.०२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ३२.३ प्रतिशत, ०.५ प्रतिशत र ६७.२ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५३.५ प्रतिशत, पुँजीगत वस्तुको १०.७ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३५.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५३.५ प्रतिशत, ११.८ प्रतिशत र ३४.७ प्रतिशत रहेका थिए ।
प्रतिक्रिया