नारायणगढ–मुग्लिन सडकका एघार पुल सञ्चालनमा

नारायणगढ–मुग्लिन सडकका एघार पुल सञ्चालनमा


चितवन – नारायणगढ– मुग्लिन सडकखण्डका ११ वटा पुल सञ्चालनमा आएका छन्। मुग्लिन बजार नजिकको खहरे, नाम्चे, कालिखोला र तुइनखोला पुलबाहेक अन्य पुल सञ्चालनमा आएका हुन्।

निर्माण भइरहेका चार पुलमा तीनवटाको पहुँच सडक निर्माणको काम जारी छ। नाम्चे, कालिखोला र खहरेखोलामा निर्माण भएका पुलको पहुँच सडक निर्माणको काम भइरहेको नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यले बताए ।

इन्जिनियर आचार्यका अनुसार पहुँच सडक निर्माण भइरहेका पुलमध्ये नाम्चे र कालिखोलाको पुल असार मसान्तभित्र सञ्चालनमा ल्याउने गरी काम गरिएको छ।

खहरेखोलामा निर्माण गरिएको पुलका लागि पहुँच सडक निर्माण गर्न अग्लो पर्खाल उठाउनुपर्ने भएकाले केही समय लाग्ने उनले बताए । तुइनखोलाको पुल निर्माणको काम ६५ प्रतिशत सम्पन्न भएको उनले जानकारी दिए।उनले भने,’तुइनखोलाको पुल निर्माणको कामअन्तर्गत जग उठाउने काम सम्पन्न भएको छ ।’

तुइनखोला र खहरेखोलाको पुल निर्माणको काम कात्तिक मसान्तभित्र सक्नेगरी भइरहेको उनले जानकारी दिए । यस सडकखण्डमा १९ वटा पुल छन्। जसमध्ये विसं २०७६ चैत १० गते १५ वटा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो।

विश्व बैंकको सहयोगमा ती पुल निर्माण गरिएका हुन् । सडक चौडा भएपछि पुलको काम थालिएको हो। यो सडक नौदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ। (रासस)