काठमाडौं- सांसदहरुले नेपालमा भित्रिने विदेशी पर्यटकहरुको तथ्यांक एउटै हुन नसक्दा नीति नियम बनाउन समस्या भइरहेको बताएका छन् । निजी क्षेत्रले दिने तथ्यांक र सरकारी तथ्यांक पनि फरक फरक हुेन गरकाले नीति निर्माणमा समस्या पर्ने बताए ।
मंगलवार नेपाल उद्योग परिसंघको पर्यटन समितिले काठमाडौंमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँगको अन्तरक्रियामा बोल्दै सांसदहरुले यस्तो बताएका हुन् । उनीहरुले वार्षिक रुपमा नेपाल भित्रिने विदेशी पर्यटकहरुको एउटै तथ्यांक हुँदा नीति निर्माण सोहीअनुसार बन्ने जिकिर गरे । कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले डेढदेखि दुई वर्षमा १० लाख पर्यटक आइरहेको मुलुकमा ३५ लाख आउँछ भन्ने गरेको भन्दै यस्ता गलत तथ्यांकले नीति निर्माणमा समस्या पर्ने बताउनु भयो । उनले नेताहरुले पनि गलत तथ्यांक प्रश्तुत गर्ने र व्यवसायीहरुले पनि गलत तथ्यांक प्रश्तुत गर्ने हो भने नेता र व्यवसायीहरुमा फरक नहुने तर्क गरे ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका सांसद एकनाथ ढकालले पनि सही तथ्यांक प्रश्तुत गरेमात्रै नीति निर्माणमा सहयोग पुग्ने बताए । उनले व्यवसायीहरुको लगानी सुरक्षित गर्न आवश्यक ऐन, कानूनहरु निर्माणमा प्राथमिकता दिनेकुरामा सरकार सदैव रहने कुरामा जोड दिए ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सांसद उदय समशेर राणाले नेपाल एयरलाइन्सलाई सरकार र सार्वजनिक मोडलमा सञ्चालन गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलसमशेर जबराले राज्यले कसैका मागहरु पनि नसुन्ने भन्दै राज्यलाई झक्झक्याउन होटलहरु बन्द गरेर आन्दोलनमा उत्रिन सुझाव दिए । उनले पर्यटन क्षेत्र नेपालको लागि धेरै नै महत्वपूर्ण रहेको भन्दै सबैले मिलेर काम गर्नुको विकल्प नरहेको जिकिर समेत गरे ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले निजगढ विमानस्थल नेपालका लागि आवश्यक रहेको बताएका छन् । उनले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले सञ्चालन गर्न आवश्यक पहल लिन नसकेको जिकिर समेत गरे ।
कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी, नेपालका सांसद तथा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँगका सभापति राजकिशोर यादवले राज्य व्यवसायिक बिद्रोही नभएको बताएका छन् ।
प्रतिक्रिया