काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले सहकारीमा लाखौँ मानिसहरू पीडित भएको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने बताएका हुन्। सचेतक शाहीले यसअघि पनि संसदबाट संसदीय छानबिन समिति बनेको उल्लेख गर्दै अब पनि संसदीय छानबिन बनाउनुपर्ने औँल्याए।
साथै उनले मंगलबार (हिजो) राप्रपाले गरेको शान्तिपूर्ण आन्दोलनमा गृह मन्त्रालयको निर्देशनमा आफूमाथि कुटपिट भएको पनि बताए। सचेतक शाहीले गृहमन्त्री रवि लामिछानेलाई विगतमा चितवन प्रहरीले पक्राउ गर्दा आफूले साथ दिएको स्मरण गराउँदै उनले आज आफूमाथि उनै गृहमन्त्रीले कुटपिट गराएको बताए।
प्रमुख सचेतक शाहीले ०४७ सालपछिका सार्वजनिक व्यक्तिहरूको सम्पत्ति छानबिन गरेर देखाउन गृहमन्त्रीलाई चुनौती पनि दिए।
प्रतिक्रिया