३२ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै केन्द्रीय बैंक

३२ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै केन्द्रीय बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३२ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकले एक सूचना जारी गर्दै विभिन्न सर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थामा कोषको ३२ करोड रुपैयाँ रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्न लागेको जनाएको हो।

राष्ट्र बैंकले यसमध्ये ‘क वर्गका वाणिज्य बैंकमा २५ करोड ६० लाख, विकास बैंकहरुमा ४ करोड ८० लाख रुपैयाँ र वित्त कम्पनीहरुमा १ करोड ६० लाख रुपैयाँ गरी कुल ३२ करोड रुपैयाँ राख्न लागेको हो।

राष्ट्र बैंकले २०८१ वैशाख ३ गतेदेखि २०८१ कार्तिक ३ गतेसम्म १८८ दिनका लागि मुद्दतीमा उक्त रकम राख्नेछ। निष्क्रिय कर्जा ५ प्रतिशत भन्दा कम भएको, कर्जा निक्षेप अनुपात निर्धारित सीमा भित्र रहेको, न्यूनतम पूँजीकोष अनुपात कायम रहेको लगायतका सर्त पुगेका बैंक तथा वित्तीय संस्थाले प्रस्तावित ब्याजदर र मुद्दतिमा लिन चाहेको रकम उल्लेख गरी आवेदन दिन सक्नेछन्।