काठमाडौं– नेपाल राष्ट्र बैंककाअनुसार गत फागुन मसान्तमा १ लाख ३० हजार ८ सय ४४ ऋणीलाई प्रवाह भएको रु. १ खर्ब ४९ अर्ब ३० करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनाको वित्तीय विवरणले यस्तो देखाएको हो।
यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ५१ हजार ४ सय ५ ऋणीलाई प्रवाह भएको रु. १०० अर्ब ७७ करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ७६ हजार ९ सय ७५ महिला उद्यमीलाई प्रवाह भएको रु. ४६ अर्ब ४८ करोड कर्जा बक्यौता रहेको छ।सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ४ सय ६४ ऋणीको रु. २ अर्ब ५ करोड कर्जा बक्यौता रहेको छ।
त्यस्तै, चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा वाणिज्य बैंकहरुको रु. २८ खर्ब ९४ अर्ब ९४ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को रु.२ खर्ब ९४ अर्ब ४१ करोड गरी कुल रु.३१ खर्ब ८९ अर्ब ३५ करोडको अन्तर–बैंक कारोबार भएको छ।अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको रु.२३ अर्ब ७१ अर्ब ६७ करोड र अन्य वित्तीय संस्थाहरुको रु.२ खर्ब ३७ अर्ब २५ करोड गरी कुल रु.२६ खर्ब ८ अर्ब ९२ करोडको अन्तर बैंक कारोबार भएको थियो।
प्रतिक्रिया