दुई गुणाले घट्यो अरुण भ्याली हाइड्रोपावरको नाफा


काठमाडौं– अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको नाफा दुई गुणाले घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेसँगै समीक्षा अवधिमा कम्पनीले जम्मा २ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको देखिएको छ। गत वर्षको यही अवधिमा कम्पनीले ४ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। प्रतिशतमा कम्पनीको नाफा समीक्षा अवधिसम्म ५०.८८ प्रतिशतको घटेको हो ।

कम्पनीको विद्युत बिक्रीबाफतको आम्दानीमा पनि गिरावट देखिएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ८२.४४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १८ करोड २३ लाख रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा घटेर ३ करोड २० लाख रुपैयाँमा खुम्चिएको छ।

चुक्तापुँजी १ अर्ब ८६ करोड रुपैयाँ रहेको कम्पनीको इक्विटी घटेर ८ करोड २६ लाख पुगेको छ। अघिल्लो वर्ष अन्य इक्विटीमा १९ करोड ७६ लाख रुपैयाँ थियो। कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) २.४९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) ११०.३७ गुणा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ भने १०४.४३ रुपैयाँ रहेको छ।

हाइड्रोपावरले आउँदो फागुन १७ गतेदेखि १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर जारी गर्दैछ। हालको चुक्तापुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँबराबरकै हकप्रद ल्याउने तयारीमा कम्पनी छ ।