व्यापारी, व्यवसायीलाई १० हजार रुपैयाँभन्दा बढी जरिवाना गर्नुहुँदैनः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ


काठमाडौं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्ज्न श्रेष्ठले ऐन, कानूनको परिपालना नगर्ने व्यापारी, व्यवसायीहरुलाई १० हजार रुपैयाँ भन्दा बढी जरिवाना गर्नु नहुने बताएका छन् ।

सोमबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा खाद्य स्वच्छता विधेयकको सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट सुझाव राख्दै महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले ऐन, कानून परिपालनाको हकमा जरिवाना, सजायको हद १० हजार रुपैयाँ भन्दा बढी राख्नु अनुचित रहेकोले १० हजार रुपैयाँसम्म कायम गर्नुपर्ने बताएका हुन् ।

त्यस्तै, दुषित खाद्य पद्धार्थ, न्युन स्तरका खाद्य पदार्थको उपभोगबाट उपभोक्ताको स्वास्थ्यमा हानी, नोक्सानी पुग्न गएमा क्षतिपूर्ति भराउँदा कैद र अत्याधिक बढी जरिवानाको सजाय गर्नु अनुचित भएको धारणा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले राखे । उनले प्याकिङ खाद्य पदार्थमा उपभोगको निमित्त अधिकतम राम्रो मिति (बेस्ट विफोर डेट) लेभलमा खुलाउनुपर्ने कानूनी व्यवस्था गर्नुपर्नेमा पनि जोड दिए ।