काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकका भूमिहीन नागरिकलाई जग्गा प्रदान गर्ने तयारी भइरहेको छ । सो कार्यका लागि पहिलो चरणमा जिल्लाको अतिदुर्गममा सूचीकृत खानीखोला गाउँपालिकाको भूमिहीन–सुकुम्बासी, भूमिहीन–दलित र अव्यवस्थित बसोबास गर्दै आएका नागरिकलाई निस्सा वितरण गर्न लागिएको हो ।
राष्ट्रिय भूमि आयोग जिल्ला समितिले यही माघ २५ गतेदेखि उक्त गाउँपालिकाका भूमिहीनलाई निस्सा वितरण गर्न लागेको समिति सदस्य राम लामाले जानकारी दिए । उनका अनुसार समितिले जिल्लास्थित १३ स्थानीय तहमध्ये महाभारत गाउँपालिकाबाहेक अन्य गाउँपालिकामा भूमिहीनको लगत राख्ने काम भइरहेको छ । जिल्लाका अन्य स्थानीय तहमध्ये खानीखोला गाउँपालिकाले सबै प्रक्रिया पूरा गरेकाले निस्सा वितरण गर्न लागिएको हो ।
समितिका अनुसार जिल्लामा भूमिहीन–सुकुम्बासी, भूमिहीन–दलित, अव्यवस्थित बसोबासीका लागि जग्गा उपलब्ध गराउने प्रक्रियाअन्तर्गत खानीखोला गाउँपालिकाबाट काम सुरु गरिएको हो । जग्गा उपलब्ध गराउनुपूर्व सम्बन्धित व्यक्तिलाई निस्सा वितरण गर्न लागिएको छ । जग्गा प्राप्तिका लागि स्थानीय नागरिकले गाउँपालिकाको कार्यालयमा दिएको निवेदनमा अन्य व्यक्तिबाट दाबी विरोध नभएको र पीडितको प्रमाणबमोजिम निस्सा दिइने लामाले बताए ।
खानीखोलाका भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउने उद्देश्यले राष्ट्रिय भूमि आयोगका केन्द्रीय विज्ञ सदस्यद्वय वासुदेव हुमागाईं र टेकबहादुर शाह तथा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङलगायत सरोकारवालाको सहभागितामा स्थानीय सहजीकरण समितिबाट निस्सा वितरण तथा नक्सापास सुरु गर्ने निर्णय गरिएको हो । समितिका अनुसार उक्त गाउँपालिकामा तीन सय ७२ अव्यवस्थित बसोबासी, ४० सुकुम्बासी, दुई भूमिहीन दलित र दुई भूमिहीन सुकुम्बासी छन् ।
यस्तै आयोगको जिल्लास्थित कार्यालयमा हालसम्म दलित भूमिहीन सुकुम्बासी एक सय २६, भूमिहीन सुकुम्बासी पाँच सय ३४ तथा अव्यवस्थित बसोबास गर्नेको सङ्ख्या तीन हजार एक सय ७३ रहेको तथ्याङ्क छ । उनीहरुले जग्गा प्राप्तिका लागि निवेदन पेस गरेकाले समिति छानविनको प्रक्रियामा रहेको जानकारी दिइयो । (रासस)
प्रतिक्रिया