काठमाडौं– बुधबार शेयर बजारमा सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक २ दशमलव ६ अंकले बढेर १ हजार ९८८ दशमलव ०४ बिन्दुमा बजार बन्द भएको छ।
यसदिन लामो समयपछि २ हजार बिन्दुमाथि उक्लिएर नेप्से ओरालो लागेको हो।
प्रिओपनिङ अवधिमा सामान्य अंकले बढेको नेप्से परिसूचक दिउँसो १२ः११ बजे दुई हजार १६ दशमलव ४६ अंकमा पुगेको थियो। त्यसपछि ओरालो लागेको नेप्से दिउँसो १ः२६ मा दुर्ई हजार ४ दशमलव ६२ अंकमा पुग्यो। त्यसपछि उतारचढावका बीच नेप्सेमा अघिल्लो दिनको तुलनामा सामान्य अंकले वृद्धि भइ बजार बन्द भएको छ।
लामो समययता खस्किँदै गएको बजार मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षापछि पुनर्जागृत हुन थालेको हो।
यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। मंगलबार ४ अर्ब बढीको कारोबार भएको बजारमा आज ३ अर्ब ९० करोड रुपैयाँको एक करोड २० लाख कित्ता सेयर खरिदबिक्री भएको छ।
आज १३ मध्ये ९ उपसमूहको सेयरमूल्य बढेको छ भने होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा र वित्त उपसमूहको सेयर ओरालो लागेको छ।
प्रतिक्रिया