काठमाडौं – नेपाल प्रहरीमा एकै पटक ६ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को पद रिक्त हुने भएपछि बढुवाको दौड तीव्र बनेको छ। आगामी पुस ५ गते ३० वर्षे सेवा अवधिका कारण पाँच जना एआईजी अनिवार्य अवकाशमा जाँदैछन्। यसअघि प्रहरी महानिरीक्षक (आईजीपी) बनेका डा. मनोजकुमार केसीको स्थानमा अर्को एआईजी नियुक्ति गर्नुपर्ने भएकाले अहिले नै एउटा पद रिक्त छ। रिक्त हुने पदमा बढुवाका लागि विभिन्न ब्याचका प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरू प्रतिस्पर्धामा छन्।
सरकारले गत कात्तिक १९ गते पूर्वआईजीपी दानबहादुर कार्कीलाई हटाएर डा.मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो। केसी आईजीपी बनेपछि अपराध अनुसन्धान विभागको एआईजी पद रिक्त भएको हो। त्यसैगरी, आगामी पुस ५ गते एआईजीहरू सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक अनिवार्य अवकाशमा जाँदैछन्।
शाह प्रदेश समन्वय विभाग, राठौर उपत्यका प्रहरी कार्यालय रानीपोखरी, चतुर्वेदी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), श्रेष्ठ कार्य विभाग र विक प्रशासन विभागको नेतृत्वमा छन्। नेपाल प्रहरीमा प्राविधिकतर्फको एक पदबाहेक आठ वटा एआईजी दरबन्दी छन्। पुस ५ पछि यीमध्ये ६ पद रिक्त हुनेछन्। त्यसपछि प्रहरीमा तीन जना मात्रै एआईजी बहाल रहनेछन्।
बढुवाको प्रतिस्पर्धामा कुन ब्याचका अधिकारी ?
एआईजी बढुवाको प्रतिस्पर्धामा मुख्यतः २०५४ सालमा प्रहरी सेवामा प्रवेश गरेका अधिकारीहरू छन्। उनीहरूमध्ये केही २०८१ पुसमै डीआईजीमा बढुवा भएका थिए भने केही २०८२ जेठमा बढुवा भएका हुन्। २०८१ पुसमा एसएसपीबाट डीआईजीमा बढुवा भएका पाँचमध्ये चारजना अहिले एआईजी बढुवाका दाबेदार छन्। त्यतिबेला डीआईजीमा बढुवा भएका ईश्वर कार्की यसअघि नै एआईजी भइसकेका छन्। उनीसँगै बढुवा भएका राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया अहिले एआईजीको प्रतिस्पर्धामा छन्।
त्यस्तै, २०८२ जेठ १६ गते डीआईजीमा बढुवा भएका ११ जनामध्ये सुदर्शनप्रसाद कोइराला, दीपक रेग्मी, दीपेन्द्र घर्ती क्षेत्री, दीपककुमार बस्नेत र जयराज सापकोटा पनि एआईजीका दाबेदार हुन्। यो समूहबाट दुईजना बढुवा हुने सम्भावना रहेको प्रहरी वृत्तमा चर्चा छ। २०८२ कात्तिक ९ गते डीआईजीमा बढुवा भएका पाँचजना तथा त्यसपछि मंसिर १ गते बढुवा भएका विश्व अधिकारीको भने तत्कालै एआईजी बन्ने सम्भावना तुलनात्मक रूपमा कम देखिन्छ। कात्तिकमा भूपेन्द्र खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले डीआईजीमा बढुवा भएका थिए। यसअघि २०५३ पुसमा भर्ना भएका डीआईजीहरू ओम राना, दिलीपनाथ देउवा र सुरेन्द्र गुरुङ पनि पुस ५ गते अनिवार्य अवकाशमा जाँदैछन्। त्यसैगरी, २०८२ जेठमा डीआईजीमा बढुवा भएका विनोद घिमिरे र माधव श्रेष्ठ पनि अवकाशमा जानेछन्।
राजेन्द्र भट्टः अनुसन्धान र व्यवस्थापनको अनुभव
एआईजी बढुवाका दाबेदारमध्ये राजेन्द्रप्रसाद भट्ट अनुसन्धान, प्रहरी व्यवस्थापन र सुरक्षा क्षेत्रमा अनुभव भएका अधिकारी हुन्। उनी हाल अनुसन्धान, योजना तथा विकास निर्देशनालयमा कार्यरत छन्। २०८२ माघ ४ गते उनलाई उक्त निर्देशनालयको जिम्मेवारी दिइएको थियो।
२०५४ फागुन १९ गते प्रहरी निरीक्षकका रूपमा सेवा प्रवेश गरेका भट्टले प्रहरी सेवाका क्रममा सल्यान, रुकुम, नवलपरासी (पूर्व) र सुर्खेतलगायत जिल्लामा विभिन्न जिम्मेवारी सम्हालेका छन्। उनले ट्राफिक प्रहरी, प्रहरी प्रशिक्षण केन्द्र तथा विभिन्न परिचालन र व्यवस्थापकीय निकायमा समेत काम गरेका छन्।
संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनअन्तर्गत कोसोभो र दक्षिण सुडानमा पनि उनले जिम्मेवारी निर्वाह गरेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा एसएसपीका रूपमा काम गरेका उनी त्यसपछि लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा डीआईजीका रूपमा कार्यरत थिए। २०३२ भदौ ६ गते कञ्चनपुरमा जन्मिएका भट्टले राजनीति शास्त्रमा स्नातकोत्तर र विज्ञान विषयमा स्नातक गरेका छन्। अपराध अनुसन्धान, प्रहरी व्यवस्थापन, मानव अधिकार तथा राष्ट्रिय सुरक्षासम्बन्धी १६ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम लिएको उनको विवरणमा उल्लेख छ।
दिनेश आचार्यः प्रहरी प्रवक्तादेखि प्रशिक्षण प्रतिष्ठानसम्म
डीआईजी दिनेशकुमार आचार्य हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक छन्। यसअघि उनले गण्डकी प्रदेश प्रहरी प्रमुख तथा नेपाल प्रहरीको प्रवक्ताका रूपमा काम गरेका थिए। २०५४ चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका आचार्यको शैक्षिक पृष्ठभूमि विज्ञान विषयसँग जोडिएको छ। उनले रसुवाको कालिका हिमालय माध्यमिक विद्यालयबाट २०४५ सालमा एसएलसी उत्तीर्ण गरेका थिए। त्यसपछि अमृत साइन्स क्याम्पसबाट आईएसी र बीएस्सी तथा त्रिभुवन विश्वविद्यालयबाट एमएस्सी अध्ययन पूरा गरेका थिए।
उच्च शिक्षा अध्ययनकै क्रममा प्रहरी निरीक्षकमा भर्ना खुलेपछि उनले आवेदन दिएका थिए। तत्कालीन समयमा देशमा सशस्त्र द्वन्द्व चलिरहेका कारण परीक्षाको नतिजा आउन ढिलाइ भएको उनको अनुभव छ। प्रहरी सेवामा प्रवेश गर्ने सुरुवाती योजना नभए पनि काम गर्दै जाँदा यही क्षेत्रमा आकर्षण बढेको उनी बताउँछन्। उनले जिल्ला प्रहरी कार्यालय, अपराध अनुसन्धान महाशाखा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा शान्ति सुरक्षासम्बन्धी विभिन्न निकायमा काम गरेका छन्। २०७९ सालमा एसएसपी भएका आचार्य २०८१ पुसमा डीआईजीमा बढुवा भएका थिए।
अरुण पौडेल र गोविन्द थपलिया पनि प्रतिस्पर्धामा
डीआईजी अरुण पौडेल हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी महाशाखा, टंगालमा कार्यरत छन्। २०८३ असार ३ गते उनको त्यहाँ सरुवा भएको थियो। २०५४ चैत १८ गते प्रहरी सेवामा प्रवेश गरेका पौडेल २०७९ असार २५ गते एसपीबाट एसएसपीमा बढुवा भएका थिए। त्यसपछि २०८१ पुस १८ गते उनी डीआईजीमा बढुवा भएका हुन्।
त्यस्तै, गोविन्द थपलिया हाल काठमाडौं उपत्यका प्रहरी कार्यालयमा प्रवक्ताको जिम्मेवारीमा छन्। यसअघि उनी मधेस प्रदेश प्रहरी प्रमुख थिए। उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा समेत काम गरेका छन्। २०७९ असारमा एसएसपीमा बढुवा भएका थपलिया २०८१ पुसमा डीआईजी बनेका थिए।
सुदर्शन कोइराला, दीपक रेग्मी र जयराज सापकोटा पनि दाबेदार
२०८२ जेठमा डीआईजीमा बढुवा भएका अधिकारीमध्ये सुदर्शनप्रसाद कोइराला, दीपक रेग्मी र जयराज सापकोटा पनि एआईजीका प्रमुख दाबेदार हुन्। उनीहरू अहिले प्रदेश प्रहरी र केन्द्रीय विभागको नेतृत्वमा छन्।
कोइराला हाल प्रहरीको कार्य विभागमा कार्यरत छन्। उनी २०८२ जेठमा एसएसपीबाट डीआईजीमा बढुवा हुँदा पहिलो नम्बरमा थिए =। वरीयतामा अगाडि रहेकाले उनलाई एआईजी बढुवाको बलियो दाबेदारका रूपमा हेरिएको छ। डीआईजी भएपछि उनले विशेष ब्युरोको प्रमुखको जिम्मेवारी पाएका थिए। यसअघि लागु औषध नियन्त्रण ब्युरोको प्रमुखका रूपमा समेत काम गरेका थिए।
त्यस्तै, दीपक रेग्मी हाल बागमती प्रदेश प्रहरी प्रमुख छन्। स्याङ्जामा जन्मिएका रेग्मी २०५४ सालको अन्त्यतिर नेपाल प्रहरीमा प्रवेश गरेका हुन्। २८ वर्षभन्दा बढी प्रहरी सेवामा बिताएका उनले बागमती प्रदेशको नेतृत्व गर्नुअघि अनुसन्धान, योजना तथा विकास निर्देशनालयको प्रमुखका रूपमा काम गरेका थिए। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखको जिम्मेवारीसमेत सम्हालेका रेग्मीले विभिन्न सुरक्षा निकायमा काम गरेको अनुभव छ। जयराज सापकोटा हाल कर्णाली प्रदेश प्रहरी प्रमुख छन्। मोरङको विराटनगर घर भएका सापकोटा पनि २०५४ सालमा प्रहरी सेवामा प्रवेश गरेका हुन्। झन्डै २८ वर्षको प्रहरी सेवामा उनले विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्।
अब रिक्त हुने एआईजी पदमा बढुवा गर्दा ज्येष्ठता, कार्यसम्पादन, व्यावसायिक दक्षता र नेतृत्व क्षमतासँगै प्रहरी संगठनभित्रको वरीयता पनि महत्त्वपूर्ण हुनेछ। एकैपटक ठूलो संख्यामा पद रिक्त हुन लागेकाले यसपटकको बढुवाले प्रहरी संगठनको आगामी नेतृत्व संरचनासमेत निर्धारण गर्नेछ।





About Us
प्रतिक्रिया