मलेसिया रोजगारीसम्बन्धी ठगी प्रकरणमा दुई पूर्व मन्त्रीसहित ६ जना पक्राउ


काठमाडौं – मलेसियामा वैदेशिक रोजगारीका लागि जाने नेपाली श्रमिकसँग सम्बन्धित ठगी तथा सङ्गठित अपराधको कसुरमा अनुसन्धानका लागि पूर्वमन्त्रीसहित ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर, रामेश्वर राय यादव,  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, मन्त्रालयका तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख (सहसचिव) उमेश ढुंगाना, राजीव पोखरेल र उपसचिव निर्मला गुरुङ रहेका छन्। 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार नेपाल सरकार र मलेसिया सरकारबीच भएको सम्झौता (एमओयू) विपरीत गैरकानुनी रूपमा रकम संकलन गरी मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र तथा विकास रानाभाटसमेतको जाहेरीका आधारमा नेपाल सरकार वादी र कैलाश खड्कासमेत प्रतिवादी रहेको ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको ब्युरोले जनाएको छ।

ब्युरोका अनुसार गैरकानुनी रूपमा संकलन गरिएको भनिएको रकममध्ये मलेसियन रिंगेट ८ करोड ३७ लाख ४३ हजार ९३९ रुपैयाँ ९२ सेन र अमेरिकी डलर ३ करोड ७१ लाख ७९ हजार ९८० डलर ८० सेन रहेको उल्लेख छ। उक्त रकमको नेपाली रुपैयाँमा कुल मूल्य १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा रहेको विज्ञप्तिमा जनाइएको छ।

सम्झौताको दायरा र कानुनी प्रक्रिया विपरीत अधिकार क्षेत्र नाघेर विदेशी मुद्रा अपचलन गराइएको, देशको विदेशी मुद्रा सञ्चितिमा नकारात्मक असर पर्ने गरी निर्णय गरिएको तथा सङ्गठित समूहको लाभका लागि श्रमिकमाथि हुने ठगी रोक्न आवश्यक कानुनी उपचार नगरेको आरोप पक्राउ परेकाहरूमाथि लगाइएको छ। काठमाडौं जिल्ला अदालत, बबरमहलबाट मंसिर २ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएपछि सीआईबीले काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। उनीहरुलाई पक्राउ गरी ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।