काठमाडौं – सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासनको तयारीमा रहेको श्री डिस्टिलरी लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ। कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार खुद नाफा बढेर ८९ लाख पाँच हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद नाफा आठ लाख ५८ हजार रुपैयाँ मात्रै थियो। यसरी एक वर्षमै कम्पनीको खुद नाफा उल्लेख्य रूपमा बढेको हो।
करिब चार दशकदेखि मदिराजन्य पेय पदार्थ उत्पादन तथा बजारीकरण गर्दै आएको श्री डिस्टिलरीले सर्वसाधारणका लागि १५ लाख १२ हजार कित्ता शेयर निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदनसमेत दिइसकेको छ। प्रस्तावित सेयरको अंकित मूल्य प्रतिकित्ता एक सय रुपैयाँका दरले १५ करोड १२ लाख रुपैयाँ बराबर हुनेछ।
आईपीओको तयारी गरिरहेको कम्पनीको कुल सम्पत्तिमा पनि वृद्धि भएको छ। आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म कम्पनीको कुल सम्पत्ति ७६ करोड पाँच लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो सम्पत्ति ६८ करोड २३ लाख रुपैयाँ थियो। कम्पनीसँग गत आर्थिक वर्षको अन्त्यसम्म ४४ करोड ३७ लाख रुपैयाँ गैर चालु सम्पत्ति र ३१ करोड ६८ लाख रुपैयाँ चालु सम्पत्ति छ। यसले कम्पनीको सम्पत्ति आधार विस्तार हुँदै गएको देखाउँछ।

सञ्चालन नाफा चार गुणाभन्दा बढी
कम्पनीको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा कुल नाफा १० करोड सात लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा पाँच करोड ३६ लाख रुपैयाँ थियो। यसरी एक वर्षमा कुल नाफा करिब पाँच करोड रुपैयाँले बढेको छ। त्यस्तै, कम्पनीको सञ्चालन नाफामा पनि उल्लेख्य सुधार आएको छ। आर्थिक वर्ष २०८२र८३ मा सञ्चालन नाफा दुई करोड ८१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ६८ लाख ९६ हजार रुपैयाँ मात्रै थियो। यसरी सञ्चालन नाफा चार गुणाभन्दा बढीले बढेको देखिन्छ।
नाफामा भएको सुधारसँगै कम्पनीको प्रतिसेयर आम्दानी ९ईपीएस० पनि बढेको छ। अघिल्लो आर्थिक वर्षमा १६ पैसा रहेको प्रतिसेयर आम्दानी गत आर्थिक वर्षमा एक रुपैयाँ ६६ पैसा पुगेको छ। यद्यपि, कम्पनीको प्रतिसेयर नेटवर्थ भने घटेको छ। अघिल्लो आर्थिक वर्षमा ११७ रुपैयाँ ८० पैसा रहेको प्रतिसेयर नेटवर्थ गत आर्थिक वर्षमा ११६ रुपैयाँ २५ पैसामा झरेको छ। कम्पनीले गत आर्थिक वर्षमा बैंक ऋणको ब्याजबापत चार लाख १६ हजार रुपैयाँ खर्च गरेको वित्तीय विवरणमा उल्लेख छ। त्यस्तै, कम्पनीले आफ्ना सेयरधनीलाई वितरण गर्ने कुनै पनि प्रकारको लाभांश सिफारिस गरेको छैन।

१५ करोड १२ लाखको आईपीओ निष्कासन गर्दै
श्री डिस्टिलरीले १५ लाख १२ हजार कित्ता साधारण शेयर निष्कासन गर्न २०८१ असार १ गते सेबोनमा आवेदन दिएको थियो। बोर्डबाट अनुमति पाएपछि कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा कुल १५ करोड १२ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। सेबोनले गत कात्तिक ११ गते आईपीओ निष्कासनको प्रतीक्षामा रहेका ११७ कम्पनीलाई छ चरणमा वर्गीकरण गरेको थियो। उक्त वर्गीकरणअनुसार श्री डिस्टिलरी दोस्रो चरणमा परेको छ । यसले कम्पनीको आईपीओ निष्कासन प्रक्रिया बोर्डको प्राथमिकताक्रममा रहेको देखाउँछ।
चार दशक पुरानो कम्पनी, १७ ब्रान्ड बजारमा
श्री डिस्टिलरी नेपालको पुराना तथा ठूला डिस्टिलरी उद्योगमध्ये एक हो। कम्पनी उद्योग विभागबाट जारी इजाजतपत्र नम्बर २२७३ अन्तर्गत २०४२ चैत २४ गते स्थापना भएको थियो । कम्पनी रजिस्ट्रारको कार्यालयमा भने २०५० चैत १२ गते दर्ता भएको हो। करिब चार दशकदेखि मदिराजन्य पेय पदार्थको उत्पादन तथा बजारीकरण गर्दै आएको कम्पनी २०७९ असार २७ गते प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो। सर्वसाधारणमा सेयर जारी गर्ने तयारी पनि कम्पनीको व्यवसाय विस्तार रणनीतिकै हिस्सा रहेको जनाएको छ। कम्पनीका अनुसार आर्थिक वर्ष २०८२÷८३ सम्म बजारमा यसका १७ वटा ब्रान्ड छन्। कम्पनीले प्रत्यक्ष रूपमा करिब एक सय जनालाई रोजगारी दिएको छ।
को छन् सञ्चालक ?
श्री डिस्टिलरीको अध्यक्षमा ज्ञानेन्द्र खनाल रहेका छन्। आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार कम्पनीको सञ्चालक समितिमा पाँचजना सदस्य छन्। सञ्चालक समितिमा अनिल लामिछाने, पारा खनाल तिमिल्सिना, कविता पोखरेल, सन्तोष राज नेपाल र काशीप्रसाद श्रेष्ठ रहेका छन्। तीमध्ये काशीप्रसाद श्रेष्ठ प्रबन्ध सञ्चालक र कविता पोखरेल स्वतन्त्र सञ्चालक हुन्।






About Us
प्रतिक्रिया