काठमाडौं – विभिन्न जिल्लाबाट अवैध लागू औषधसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। कैलाली, बर्दिया, मकवानपुर, उदयपुर, नवलपरासी पश्चिम र सुनसरीबाट लागू औषधसहित उनीहरू पक्राउ परेका हुन्।
प्रहरीका अनुसार कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीबाट खैरो हेरोइनजस्तो देखिने १३० मिलिग्राम पदार्थसहित कालिकोटको खाँडाचक्र नगरपालिका–३ निवासी २९ वर्षीय जगदीश पाण्डे पक्राउ परेका छन्। त्यस्तै, बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुर चोकबाट ७८० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित गुलरिया नगरपालिका–१ निवासी २० वर्षीय समोहित परियार पक्राउ परेका छन्। सोही नगरपालिका–११ को बाइपास रोडबाट २०० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित बाँकेको खजुरा गाउँपालिका–२ निवासी २३ वर्षीय दीपिका वली पनि पक्राउ परेकी छन्।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ लोकप्रिय मोडबाट १५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित बागमती गाउँपालिका–६ फापरबारी निवासी २५ वर्षीय रूपा विश्वकर्मा पक्राउ परेकी छन्। यसैगरी हेटौंडा–२ चौकीटोलबाट ७०० मिलिग्राम उक्त पदार्थसहित कैलाश गाउँपालिका–१० घर भई सोही स्थानमा डेरा गरी बस्ने २२ वर्षीय बिनोद थिङसहित चार जना पक्राउ परेका छन्।
यस्तै, उदयपुरको चौदण्डीगढी नगरपालिका–३ पैतालिस चोकबाट डाइक्लोमाइन ९० ट्याब्लेट र ट्रामाडोल ९० ट्याब्लेटसहित स्थानीय ४२ वर्षीय लक्ष्मण राईसहित दुई जना पक्राउ परेका छन्।
नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–१७ पिप्रैयाबाट करिब ८९० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थ र नाइट्राजेपाम १२ ट्याब्लेटसहित पाल्हीनन्दन गाउँपालिका–३ निवासी ३५ वर्षीय गुलाम जिलानी अन्सारी पक्राउ परेका छन्। यूपि ५६ यू ७१६६ नम्बरको मोटरसाइकलमा सवार उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
त्यसैगरी, सुनसरीको बराहक्षेत्र नगरपालिका–७ प्रगति चोकबाट १ ग्राम ७५० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित स्थानीय २० वर्षीय सुमन बस्नेत पक्राउ परेका छन्।






About Us
प्रतिक्रिया