काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले नक्कली भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान अघि बढाउन नसकेको भन्दै सरकारमाथि प्रश्न उठाएका छन्। नेता शाहीले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भ्रष्टाचारविरुद्ध कडा अभिव्यक्ति दिनेहरू सत्तामा पुगेपछि पनि भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान हुन नसकेको बताएका हुन्।
उनले विगतमा संसद्मा भ्रष्टाचारीलाई जेल हाल्ने र कसैलाई पनि नछोड्ने भन्दै चर्को भाषण गर्ने तथा सामाजिक सञ्जालमा भ्रष्टाचारविरुद्ध आवाज उठाउनेहरू अहिले सरकारमा रहेको उल्लेख गरेका छन्।
तर नयाँ सरकार गठन भएको सात महिना र त्यसअघिको सरकारको कार्यकालसमेत जोड्दा १३ महिना बितिसक्दा पनि भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान गरी नयाँ अभियोजन फाइल अदालतसम्म पुर्याउन नसकिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्।
शाहीले यसअघि कारबाहीमा परेर जेल सजाय भोगिरहेका व्यक्तिहरूसमेत रिहा भइसकेको उल्लेख गर्दै प्रकरणमा संलग्न अन्य व्यक्तिमाथिको अनुसन्धान र कारबाही प्रक्रिया कहाँ पुगेको छ भन्ने प्रश्न गरेका छन्। उनले सरकारसँग थप अनुसन्धान किन अघि बढेन, नयाँ फाइल किन तयार भएन र दोषीमाथि थप कारबाही किन हुन सकेन भन्ने प्रश्न उठाउँदै भ्रष्टाचारविरुद्धको प्रतिबद्धता व्यवहारमा देखाउन चुनौती दिएका छन्।






About Us
प्रतिक्रिया