काठमाडौं – अमेरिकामा मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले संसद्मा नियन्त्रण लिएपछि अमेरिकी शेयर बजारमा ऐतिहासिक वृद्धि देखिएकाे छ। राजनीतिक अनिश्चितता कम हुने र सरकारी खर्चमा नियन्त्रण कायम हुने अपेक्षाले बुधबार बजारमा उल्लेख्य वृद्धि देखिएको हो।
बुधबार डाउ जोन्स औद्योगिक सूचकांक १ हजार ५६९ अंक अर्थात् ३ प्रतिशतले बढेको छ। यो सन् १९८२ यताका मध्यावधि निर्वाचनपछिका दिनमध्ये सबैभन्दा ठूलो एकदिने वृद्धि हो। त्यस्तै, एस एन्ड पी ५०० सूचकांक १.५८ प्रतिशत र नास्डाक १.४४ प्रतिशतले बढेका छन्।
निर्वाचन परिणामपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिगत योजनामा नियन्त्रण कायम हुने र इरानसँगको युद्ध मत्थर हुन सक्ने अपेक्षाले लगानीकर्ताको मनोबल बढाएको हो। यसैबीच, ब्रेन्ट कच्चा तेलको मूल्य ८.७ प्रतिशतले घटेर प्रतिब्यारेल ९४.६२ अमेरिकी डलरमा झरेको छ।
यद्यपि, युद्ध चाँडै अन्त्य हुनेमा सबै विश्लेषक विश्वस्त छैनन्। रापिडन इनर्जी ग्रुपका अध्यक्ष बब म्याकनेलीले युद्ध थप चर्किने सम्भावना बढी रहेको बताएका छन्। विभाजित सरकारका कारण सरकारी खर्च र नीतिगत निर्णयमा नियन्त्रण कायम हुने अपेक्षाले अमेरिकी सरकारी ऋणपत्रको प्रतिफल घटेको छ भने डलरसमेत कमजोर बनेको छ। बजारको उतारचढाव मापन गर्ने भीआईएक्स सूचकांक करिब २० प्रतिशतले घटेको छ।
तर, कृत्रिम बुद्धिमत्ता क्षेत्रमा भने निर्वाचनको परिणामले नयाँ चिन्ता थपेको छ। तथ्यांक केन्द्र निर्माणमा कडा नियमन आउन सक्ने आशंकाले एनभिडियाको सेयर मूल्य करिब ३ प्रतिशतले घटेको छ। समग्रमा अमेरिकी बजार बढेपनि कृत्रिम बुद्धिमत्ता र प्रविधि क्षेत्रमा लगानीकर्ताको चिन्ता कायम रहेको देखिएको छ।





About Us
प्रतिक्रिया