नवनियुक्त आईजीपी केसीको प्राथमिकतामा साइबर अपराध, क्रिप्टो कारोबार र डीपफेक नियन्त्रण

'साइबर ठगी, वित्तीय अपराध, क्रिप्टो कारोबार, डिपफेक तथा भ्रामक सूचनाजस्ता अपराध प्रहरीका लागि नयाँ चुनौतीका रूपमा छन्।'


काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले नेपाल प्रहरी संगठनको नेतृत्व गर्ने जिम्मेवारी प्रदान गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्दै नागरिकको सुरक्षा, सम्मान र सेवाप्रति प्रतिबद्ध भएर काम गर्ने बताएका छन्। उनले संविधान र कानुनको पूर्ण पालना गर्दै संगठनको नेतृत्व गर्ने उल्लेख गर्दै प्रहरी संगठनको मर्यादा, व्यावसायिकता र निष्पक्षतामा कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन्। आफ्नो कार्यकालको मूल्याङ्कन आफूले नेपाली नागरिकलाई कस्तो सेवा दिन सकेँ भन्ने आधारमा हुनुपर्ने उनको भनाइ छ।

वर्तमान समयमा साइबर ठगी, वित्तीय अपराध, क्रिप्टो कारोबार, डिपफेक तथा भ्रामक सूचनाजस्ता अपराध प्रहरीका लागि नयाँ चुनौतीका रूपमा देखिएको उल्लेख गर्दै आईजीपी केसीले यस्ता अपराध नियन्त्रणका लागि नेपाल प्रहरीलाई प्रविधिमैत्री र थप सक्षम बनाउनुपर्नेमा जोड दिएका छन्। उनले विपद् व्यवस्थापनको क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता पनि औँल्याएका छन्।

प्रहरी संगठनभित्र स्रोतसाधन तथा भौतिक पूर्वाधारको अभाव, लामो कार्यघण्टा र सरुवा–बढुवामा निष्पक्षताको सवालजस्ता समस्या रहेको उल्लेख गर्दै उनले यस्ता चुनौतीलाई प्रणालीगत सुधारमार्फत सम्बोधन गर्ने बताएका छन्। ती समस्यालाई आफूले सुधारको अवसरका रूपमा लिएको उनको भनाइ छ। नेपाल प्रहरीले सशस्त्र द्वन्द्व, भूकम्प, कोभिड महामारी तथा विभिन्न अन्तर्राष्ट्रिय शान्ति मिसनमा आफ्नो क्षमता प्रमाणित गरिसकेको उल्लेख गर्दै आईजीपी केसीले संगठनसँग पर्याप्त अनुभव, जनशक्ति र सेवाभाव रहेको बताए।

उनले भने, ‘हामीसँग अनुभव छ, जनशक्ति छ, सेवा गर्ने इच्छाशक्ति पनि छ र यी सबै काम गर्नका लागि हामीले हाम्रो जनशक्तिलाई विशिष्टीकृत र मनोबलयुक्त बनाउनुपर्नेछ।’ प्रहरी कर्मचारीका गुनासो सम्बोधनलाई प्राथमिकतामा राख्दै त्यसका लागि तत्कालै एउटा संयन्त्र कार्यान्वयनमा ल्याउने उनले जानकारी दिए। अन्य संगठनात्मक सुधारका योजनालाई पनि क्रमशः अघि बढाइने उनको भनाइ छ।

आधुनिक प्रहरी सेवामा नागरिकसँगको सम्बन्ध नै सबैभन्दा महत्वपूर्ण आधार भएको उल्लेख गर्दै आईजीपी केसीले प्रहरी संगठनलाई प्रभावमुक्त, व्यावसायिक र उत्तरदायी बनाउन आवश्यक स्रोतसाधन, कानुनी स्पष्टता तथा कार्यगत स्वायत्तता सुनिश्चित गर्न सरकारसँग सहयोगको आग्रह गरेका छन्। आईजीपी केसीका प्रतिबद्धताले नागरिककेन्द्रित प्रहरी सेवा प्रवाह, संगठनात्मक सुधार, प्रविधिमा आधारित अपराध नियन्त्रण तथा प्रहरी कर्मचारीको मनोबल अभिवृद्धिलाई आगामी कार्यकालका प्रमुख प्राथमिकताका रूपमा अघि सारेको देखिन्छ।