काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजारमा सूचना प्रविधिको सुरक्षित र प्रभावकारी प्रयोग गर्न ‘नेपाल धितोपत्र बोर्ड सूचना प्रविधि नीति, २०८३’ लागू गरेको छ। बोर्डले आज अर्थात् कात्तिक १८ गतेदेखि लागू हुने गरी नयाँ नीति कार्यान्वयनमा ल्याएको हो।
बोर्डका अनुसार नयाँ नीतिले धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा प्रविधिको प्रयोगलाई सुरक्षित, पारदर्शी र भरपर्दो बनाउने लक्ष्य राखेको छ। नेपालको पुँजी बजारमा प्रयोग हुने सूचना प्रविधिका साधन तथा प्रणालीमा साइबर अपराध न्यूनीकरण गर्दै सूचना प्रविधिको प्रयोगलाई स्तरीय तथा मितव्ययी बनाउने एवं प्रणालीहरूको गुणस्तर कायम गर्ने उद्देश्यले बोर्ड यो नीति लागू गरेको हो।
बोर्डले धितोपत्र बजारसँग सम्बन्धित संस्थाहरूलाई उनीहरूको काम र जिम्मेवारीअनुसार तीन तहमा वर्गीकरण गरी सूचना प्रविधि सुरक्षाका मापदण्ड लागू गर्ने व्यवस्था गरेको छ। बजार सञ्चालन तथा निक्षेपसम्बन्धी संस्थादेखि धितोपत्र दलाल, मर्चेन्ट बैंकर र शेयर रजिस्ट्रारसम्मका संस्थाले तोकिएका सुरक्षा मापदण्ड पालना गर्नुपर्नेछ।
त्यस्तै बजारका महत्त्वपूर्ण प्रणालीमा समस्या वा विपद् आए पनि सेवा निरन्तर सञ्चालन गर्न व्यवसाय निरन्तरता योजना र विपद् पुनः प्राप्ति योजना बनाउनुपर्ने व्यवस्था गरिएको छ। यस्ता योजनाको वर्षमा कम्तीमा एकपटक परीक्षण गरी त्यसको प्रतिवेदन बोर्डमा बुझाउनुपर्नेछ।
यता बोर्डले बजार कारोबार, राफसाफ तथा फर्छ्यौट संयन्त्र, केन्द्रीय निक्षेप प्रणाली र वेयर हाउससँग सम्बन्धित अभिलेख दिगो, भरपर्दो र सुरक्षित बनाउन अन्तर्राष्ट्रिय अभ्यासअनुरूपको विपद् पुनः प्राप्ति संयन्त्र स्थापना र व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरेको छ। त्यस्तै, बजार पूर्वाधार संस्थाहरूले सुरक्षा सञ्चालन केन्द्र स्थापना गरी वा मान्यता प्राप्त सुरक्षा सेवा प्रदायकमार्फत चौबीसै घण्टे साइबर खतरा निगरानीको व्यवस्था मिलाउनुपर्ने प्रावधान राखेको छ।





About Us
प्रतिक्रिया