एनपीएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ, ८९ लाख बढीको कारोबार


काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा अनलाइनमार्फत सट्टेबाजी गर्ने तथा गराउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य भोजपुर जिल्ला टाउन थाना घर भई हाल काठमाडौंको ठमेल बस्ने सोनु कुमार सिन्हा रहेका छन्। 

काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टीयू)क्रिकेट मैदानमा सञ्चालन भइरहेको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग–२०२६ का क्रममा अनलाइन सट्टेबाजी भइरहेको सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरी टोलीले सिन्हाको साथबाट दुई थान मोबाइल फोन बरामद गरी जाँच गर्ने क्रममा उनले विभिन्न अनलाइन बेटिङ साइटमा लगइन गरी सट्टेबाजीको कारोबार गरेको खुलेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रहरीका अनुसार उनले अलप्यानलएक्सचेन्ज९ डट गेम, एपीविन२४७ डट कम, बाजीमारो डट अनलाइन र टीएनबुक२४७ डट कम लगायतका अनलाइन बेटिङ साइटमार्फत नेपाली रुपैयाँ ८९ लाख ८१ हजार ७२९ बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। सिन्हालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।