काठमाडौं – हिम पर्वत हाइड्रोपावर लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने आज अन्तिम दिन रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले भने आगामी कात्तिक २५ गतेसम्म आईपीओमा आवेदन दिन सक्नेछन्।
कम्पनीले कात्तिक ११ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो। कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको छ। सबै शेयरको प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ रहेको छ।
यसअन्तर्गत १६ करोड ९० लाख रुपैयाँ बराबरका १६ लाख ९० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्टाइएको छ। त्यसमध्ये १० लाख १४ हजार कित्ता शेयर आयोजनाबाट अति प्रभावित क्षेत्र दोलखाको बिगु गाउँपालिकाका वडा नं. ५, ६, ७ र ८ तथा कालिञ्चोक गाउँपालिकाका वडा नं. २, ३ र ४ का बासिन्दाका लागि निष्कासन गरिएको छ।
बाँकी ६ लाख ७६ हजार कित्ता शेयर बिगु र कालिञ्चोक गाउँपालिकाका अन्य वडाका स्थानीय बासिन्दाका लागि छुट्टाइएको छ। त्यसैगरी, सर्वसाधारणका लागि छुट्टाइएको शेयरको १० प्रतिशत अर्थात् ४ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरका ४ लाख २२ हजार ५०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको छ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले नेपाल इन्भेस्टमेन्ट बैंक, सिन्धु विकास बैंक, प्रभु बैंकको सिंगटी शाखा, लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सटेन्सन काउन्टर तथा सिटिजन्स बैंकको चरिकोट शाखाबाट आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालय वा सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।






About Us
प्रतिक्रिया