कर्णाली प्रदेश: निक्षेप २२ प्रतिशतले बढ्दा कर्जा विस्तार ९.७९ प्रतिशत


काठमाडौं – कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन बढ्दै गए पनि कर्जा प्रवाह भने सुस्त देखिएको छ। प्रदेशमा संकलित निक्षेप १ खर्ब ११ अर्ब रुपैयाँ नाघ्दा कर्जा प्रवाह ६६ अर्ब ८५ करोड रुपैयाँमा सीमित रहेको छ।

नेपाल राष्ट्र बैंक, सुर्खेत कार्यालयले सार्वजनिक गरेको आर्थिक गतिविधिसम्बन्धी वार्षिक प्रतिवेदनअनुसार समीक्षा अवधिमा निक्षेप संकलन २२.०३ प्रतिशतले बढेको छ। यस्तै, कर्जा प्रवाहमा ९.७९ प्रतिशतको वृद्धि देखिएको छ।

प्रतिवेदनअनुसार कर्णालीमा प्रवाहित कुल कर्जाको ठूलो हिस्सा सेवा क्षेत्रमा गएको छ। सेवा क्षेत्रमा मात्रै ५७ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ, जुन कुल कर्जाको ८५.२१ प्रतिशत हो। सेवा क्षेत्रमा गएको कुल कर्जामध्ये सुर्खेत जिल्लाको हिस्सा ६१.९८ प्रतिशत रहेको छ।

कर्जा प्रवाहको क्षेत्रगत अवस्थाले कर्णालीको बैंकिङ्ग लगानी सेवा क्षेत्रमा बढी केन्द्रित रहेको देखाउँछ। निक्षेप संकलनको वृद्धिदरभन्दा कर्जा विस्तारको वृद्धिदर कम रहनुले प्रदेशमा वित्तीय स्रोत परिचालनको अवस्थाबारे पनि प्रश्न उठाएको छ। राष्ट्र बैंकको प्रतिवेदनअनुसार २०८३ असार मसान्तसम्म कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाका ४८१ शाखा सञ्चालनमा रहेका छन्।