गिटहबको उत्कृष्ट सूचीमा नेपाली डेभलपर भुसालका दुई प्रोजेक्ट


काठमाडौं- नेपाली डेभलपर निरज भुसालले निर्माण गरेका ‘गति अलर्ट्स’ र ‘रसुवा बाढी बुलेटिन’ गिटहबको सन् २०२६ का उत्कृष्ट ओपन सोर्स प्रोजेक्टमा सूचीकृत भएका छन्। सार्वजनिक सूचना प्रवाह र विपद् व्यवस्थापनमा केन्द्रित यी प्रोजेक्टलाई गिटहबको ‘अक्टोभर्स २०२६’ प्रतिवेदनमा समावेश गरिएको हो।

भुसालले सरकारी निकायबाट जारी हुने आधिकारिक सूचना नागरिकसम्म छिटो र विश्वसनीय रूपमा पुर्‍याउन ‘गति’ प्लेटफर्म निर्माण गरेका हुन्। यसले जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र र नेपाल प्रहरीका सूचनालाई सीएपी १.२ मापदण्डअनुसार एकीकृत रूपमा प्रसारण गर्छ।

‘गति’ ले आफैँ चेतावनी जारी नगरी सरकारी निकायका आधिकारिक सूचना स्रोत र समयसहित नागरिकसम्म पुर्‍याउँछ। यसमा नागरिकले विपद्सम्बन्धी जानकारी पठाउन सक्ने सुविधा, आधिकारिक तथ्यांकमा आधारित एआई प्रणाली ‘आस्क गति’, भूकम्प तथा मौसम अपडेट र पदयात्रा सुरक्षा जाँचजस्ता सुविधा छन्।

यसअघि २०८३ भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका क्रममा भुसालले ‘रसुवा बाढी बुलेटिन’ सञ्चालनमा ल्याएका थिए। उक्त बुलेटिनमा बाढीको अवस्था, उद्धार गरिएका नेपाली तथा विदेशी नागरिकको विवरण र क्षतिको जानकारी समेटिएको थियो।