काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रतिस्पर्धा मात्र रहेन, बैंक तथा बीमा कम्पनीका लागि ब्रान्ड चम्काउने ठूलो मञ्चसमेत बनेको छ। तेस्रो संस्करणमा सहभागी आठवटै टोलीलाई बैंक तथा बीमा कम्पनीले प्रायोजन गरेका छन्। प्रतियोगिताको मुख्य प्रायोजकसमेत बैंक नै छ। खेलप्रतिको बढ्दो आकर्षणलाई व्यावसायिक अवसरमा बदल्दै वित्तीय संस्थाहरू दर्शकमाझ आफ्नो पहिचान स्थापित गर्न र ग्राहक आकर्षित गर्न क्रिकेट मैदानमा उत्रिएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले यसपटक एनपीएलबाट डेढ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरेको छ।
एनपीएलको तेस्रो संस्करण क्रिकेट मैदानमा आठ टोलीबीच प्रतिस्पर्धा छ। तर, यो प्रतिस्पर्धा मैदानमा खेलाडीबीच मात्रै सीमित छैन। दर्शकको ध्यान र बजारमा आफ्नो ब्रान्डको पहिचान बलियो बनाउने उद्देश्यसहित बैंक तथा बीमा कम्पनीहरू पनि एनपीएलमार्फत प्रतिस्पर्धामा उत्रिएका छन्। क्यानका सचिव पारस खड्काका अनुसार यसपटकको एनपीएलमा डेढ अर्ब रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ। क्यानले यसअघि नै टेलिभिजन र ओटीटी राइट्स बिक्री गरेर ३० करोड रुपैयाँभन्दा बढी संकलन गरिसकेको छ।
यसबाहेक टिकट बिक्री र प्रायोजकबाट समेत ठूलो रकम संकलन हुनेछ। यही आधारमा एनपीएलको कुल कारोबार डेढ अर्ब रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ। यसरी एनपीएल खेलकुद प्रतियोगितामा मात्र सीमित नभई बैंक तथा बीमा कम्पनीका लागि आफ्नो ब्रान्ड प्रवर्द्धन गर्ने र सम्भावित ग्राहकसम्म पुग्ने महत्त्वपूर्ण माध्यमसमेत बनेको छ। एनपीएलको पहिलो संस्करणदेखि नै सिद्धार्थ बैंकले मुख्य प्रायोजकका रूपमा सहकार्य गर्दै आएको छ। बैंकले पाँच वर्षका लागि सम्झौता गरेको हो। ‘यो नेपाली खेलकुदको सबैभन्दा ठूलो प्रायोजन सम्झौता हो,’ सम्झौताका क्रममा क्यानका सचिव खड्काले भनेका थिए। सोही सम्झौताअनुसार तेस्रो संस्करणमा पनि सिद्धार्थ बैंक ‘टाइटल स्पोन्सर’का रूपमा जोडिएको छ।
मुख्य प्रायोजक सिद्धार्थ बैंकले विगतका वर्षमा एनपीएललाई लक्षित गर्दै विभिन्न अफर सार्वजनिक गर्दै आएको छ। यस वर्ष पनि नयाँ ग्राहकलाई लक्षित गरेर बैंकले सिद्धार्थ एनपीएल क्रेडिट कार्ड र सिद्धार्थ एनपीएल बचत खाता सार्वजनिक गरेको छ। सिद्धार्थ एनपीएल क्रेडिट कार्डअन्तर्गत असोज १ देखि मंसिर २९ गतेसम्म आवेदन दिने ग्राहकले आजीवन निःशुल्क क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन्। यसका लागि कार्ड जारी गर्दा पहिलो वर्षको वार्षिक शुल्क पूर्ण रूपमा छुट दिने बैंकले जनाएको छ।
त्यस्तै, सिद्धार्थ एनपीएल बचत खाता खोल्ने ग्राहकले विशेष डिजाइन गरिएको सिद्धार्थ एनपीएल डेबिट कार्ड पाउनेछन्। यो खाता खोल्ने ग्राहकले सुरुवाती सुविधाका रूपमा ५०० सिद्धार्थ रिवार्ड पोइन्ट प्राप्त गर्नेछन्। सिद्धार्थ एनपीएल डेबिट कार्ड र सिद्धार्थ बैंक स्मार्ट एक्सपी दुवैको सदस्यता लिने ग्राहकले प्रारम्भिक सदस्यता लिँदा एकमुष्ट ५०० रुपैयाँ वार्षिक शुल्क तिरेर बन्डल प्याकेजका रूपमा सेवा प्राप्त गर्न सक्नेछन्।
एनपीएलको पहिलो संस्करण विसं २०८१ मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन भएको थियो। दोस्रो संस्करण २०८२ मंसिर १ देखि मंसिर २७ गतेसम्म चलेको थियो। तेस्रो संस्करण भने मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ। यसपटक एनपीएलमा सहभागी आठ वटै टोलीलाई बैंक तथा बीमा कम्पनीले प्रायोजन गरेका छन्। सुदूरपश्चिम रोयल्सलाई प्राइम कमर्सियल बैंक र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले प्रायोजन गरेको छ। त्यस्तै, विराटनगर किंग्सलाई एभरेस्ट बैंकले र चितवन राइनोजलाई हिमालयन एभरेस्ट इन्स्योरेन्सले प्रायोजन गरेका छन्।
जनकपुर बोल्ट्सलाई मुक्तिनाथ विकास बैंक र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले, कर्णाली याक्सलाई नेसनल लाइफ इन्स्योरेन्सले, काठमाडौं गोर्खाजलाई शिखर इन्स्योरेन्सले र लुम्बिनी लायन्सलाई शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले प्रायोजन गरेका छन्। पोखरा एभेन्जर्सलाई एनएमबि बैंकले प्रायोजन गरेको छ। एनपीएलको मुख्य प्रायोजक सिद्धार्थ बैंकका चिफ मार्केटिङ अफिसर सुरेश राज महर्जनका अनुसार नेपाली क्रिकेटले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गरिरहेको समयमा नेपाल क्रिकेट संघलाई साथ दिने उद्देश्यले मुख्य प्रायोजन गरिएको हो।
‘पहिलो संस्करणमा नै एनपीएलले हासिल गरेको लोकप्रियता र दोस्रो संस्करणमा थपिएको लोकप्रियताले बैंकले उचित ठाउँमा स्पोन्सर गर्यौँ भन्ने हाम्रो ठम्याइँ छ,’ उनले भने। बैंक तथा बीमा कम्पनीहरूले एनपीएललाई प्रचारप्रसार, ग्राहक आकर्षित गर्न, बजारमा आफ्नो पहिचान बलियो बनाउन र व्यवसाय विस्तार गर्ने अवसरका रूपमा लिएका छन्। क्रिकेटप्रति रुचि राख्ने दर्शकको संख्या बढ्दै जाँदा कम्पनीहरूमा पनि खेलकुद प्रायोजनप्रति चासो बढेको छ । सुरु भएको तीन वर्षमै एनपीएलले हासिल गरेको लोकप्रियताका कारण बैंक तथा बीमा कम्पनीहरूले विभिन्न टोलीलाई प्रायोजन गरेर ठूलो संख्यामा रहेका दर्शकमाझ आफ्नो ब्रान्ड पुर्याउन खोजिरहेका छन्।
बैंक तथा बीमा कम्पनीहरूले छुट्टै बजेटबाट खेलकुद क्षेत्रमा लगानी गर्दै आएका छन्। खेलकुदको विकास र प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले लुम्बिनी लायन्सलाई प्रायोजन गरिएको शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सूचना अधिकारी लोकराज पनेरु बताउँछन्। ‘लुम्बिनीलाई नै किन स्पोन्सर भन्दा हामी घरेलु बैंक पनि भएको हुँदा खेलाडी र टिमलाई पनि हौसला मिलोस् भन्ने हिसाबले होम बैंकको रूपमा स्पोन्सर गरेको हो,’ उनले बैंकिङ्ग समाचारसँग भने, ‘खासगरी खेलकुदलाई सहयोग गरिएको हो, यसले ब्रान्डिङमा पनि सपोर्ट गर्छ।’ यसपटकको एनपीएलमा राष्ट्रिय खेलाडीसँगै अन्तर्राष्ट्रिय स्तरका खेलाडी पनि सहभागी छन्। विदेशी खेलाडीको सहभागिताले प्रतियोगिताको आकर्षण र लोकप्रियता थप बढाउँदै लगेको छ। यही लोकप्रियतालाई आफ्नो ब्रान्डसँग जोड्दै बैंक तथा बीमा कम्पनीहरू क्रिकेट मैदानमार्फत बजारमा आफ्नो उपस्थिति बलियो बनाउने प्रयासमा छन्।






About Us
प्रतिक्रिया