काठमाडौं- दसैंको समयमा घरधनीहरू घरमा नभएको मौका छोपेर चोरी गरेको आरोपमा चार भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतका विकास पोदार, छिविल्ला, राजु कुमार भन्ने राजु पोदार, लल्लु पोदार र राजेन्द्र पोदार भन्ने राजेन्द्र कुमार र विणा देवी रहेका छन्। काठमाडौंको कलंकी क्षेत्रमा दुई वटा घरमा ताल्चा फोडेर नगद, सुन तथा चाँदीका गरगहनासहित विभिन्न धनमाल चोरी गरेको घटनाको अनुसन्धानका क्रममा उनीहरू पक्राउ परेका हुन्।
प्रहरीका अनुसार २०८३ कात्तिक ४ गते राति काठमाडौं महानगरपालिका–१४, कलंकीस्थित तासिङडोल मार्गमा किसन सिंह बस्नेतको घरमा फ्ल्याट भाडामा लिएर बस्दै आएकी उर्मिला भन्ने सीता थपलियाको फ्ल्याटमा कोही नभएको मौका पारी ढोकाको ताला फोडेर चोरी गरिएको थियो। उक्त घटनामा नगद, सुन तथा चाँदीका गरगहनालगायतका सामान चोरी भएको थियो।
त्यस्तै, कात्तिक ५ गते राति ११ः३० बजेदेखि कात्तिक ६ गते बिहान ३ बजेसम्मको अवधिमा कलंकीस्थित रञ्जित कोलोनीमा रहेको निरञ्जन नेपालको घरको ढोकाको ताला फोडेर पनि चोरी भएको प्रहरीले जनाएको छ। उक्त घरबाट समेत नगद, सुन तथा चाँदीका गरगहनालगायतका धनमाल चोरी भएको थियो। दुवै घटनाको अनुसन्धान तथा खोजतलासका क्रममा खटिएको प्रहरी टोलीले कात्तिक ८ गते साँझ ५:३० बजे काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरीका सामान तथा नगदसहित उनीहरुलाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरुको साथबाट सुनका सिक्री, बाला, औंठी, लकेटका टुक्रा, कछुवाको मूर्ति, सिक्का तथा सरस्वतीको मूर्तिलगायतका सामान बरामद गरेको छ। त्यसैगरी, चाँदीका सिन्दुरदानी, गणेश र लक्ष्मीका मूर्ति, पाउजु, सिरबन्दी, औंठी, सिक्का, ब्रेसलेट तथा अन्य टुक्राहरू पनि बरामद गरिएको छ।
बरामद सामग्रीमा कप, दियो, पानी चढाउने चम्चा, कुच्चिएका करुवा तथा अन्य पूजाका सामग्री, विभिन्न कम्पनीका १६ थान मोबाइल, विभिन्न कम्पनीका चालु तथा बन्द अवस्थामा रहेका १० थान घडी, नेपाल र भारतका विभिन्न दरका सिक्का तथा भारतीय रुपैयाँ १२ हजारसमेत रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त कालिमाटी, काठमाडौं पठाएको जनाएको छ।







About Us
प्रतिक्रिया