काठमाडौं- राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्ने ‘६ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९’ को बिक्री सर्वसाधारणका लागि खुला गर्ने भएको छ। बैंकले ३ अर्ब रुपैयाँ बराबरको डिबेन्चर निष्कासन गरेकोमा असोज २९ गतेदेखि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख इकाई डिबेन्चर निष्कासन गरेको हो। कुल निष्कासित इकाईमध्ये ६० प्रतिशत अर्थात् १८ लाख इकाई व्यक्तिगत तवर (प्राइभेट प्लेसमेन्ट) मार्फत बिक्रीका लागि छुट्याइएको छ। यसको मूल्य १ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको छ। बाँकी ४० प्रतिशत अर्थात् १२ लाख इकाई सर्वसाधारणका लागि खुला गरिनेछ, जसको कुल मूल्य १ अर्ब २० करोड रुपैयाँ रहेको छ।
सात वर्ष अवधि रहेको उक्त डिबेन्चरमा लगानी गर्न इच्छुकले असोज २९ गतेदेखि कात्तिक १० गतेसम्म आवेदन दिन सक्नेछन्। तोकिएको अवधिमा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि कात्तिक १२ गतेसम्म थप हुन सक्ने बैंकले जनाएको छ। लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम निष्कासन गरिएका सम्पूर्ण इकाईसम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। डिबेन्चरको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेडले पाएको छ।
वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल देशका सातै प्रदेशका ७७ वटै जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेट्दै बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ। बैंकका ३१६ शाखा कार्यालय र ३३८ एटीएम टर्मिनलमार्फत ४९ लाखभन्दा बढी ग्राहकलाई निक्षेप, कर्जा, एटीएम, मोबाइल बैंकिङ्ग लगायत आधुनिक डिजिटल बैंकिङ्ग सेवा उपलब्ध गराइँदै आएको छ।






About Us
प्रतिक्रिया