दसैं सुरक्षित बनाउन देशभर ५० हजार प्रहरी, ड्रोनबाट निगरानी र के ९ कुकुर


काठमाडौं – काठमाडौंका बजारमा चहलपहल बढी रहेको छ। गाउँ फर्किनेहरूको भीड बसपार्कमा देखिन्छ। नेपालीहरूको नेपालीहरूको महान् पर्व दसैं नजिकिँदै गर्दा सर्वसाधारण आफ्नो तरिकाले पर्व मनाउने तरखरमा छन्। तर, यही दसैंलाई सुरक्षित, व्यवस्थित र भयरहित बनाउन प्रहरीहरू सर्वसाधारण लक्षित सुरक्षा योजना बनाउनमा व्यस्त छन्।

दसैंलाई लक्षित गर्दै प्रहरीले यस समयमा हुनसक्ने दुर्घटना, चोरी डकैती, कालोबजारी तथा सवारी नियम उल्लंघनका घटना न्यूनीकरण गर्न विशेष सुरक्षा योजना बनाउँदै छ। नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार, प्रदेश, जिल्ला तथा स्थानीय तहअनुसार आवश्यकताका आधारमा टोली परिचालन गरिएको छ। दसैंको समयमा हुन सक्ने सम्भावित घटना तथा दुर्घटनालाई ध्यानमा राख्दै सुरक्षा योजनाअनुसार काम सुरु भइसकेको काफ्ले बताउँछन्।

विशेषगरी सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी साधनको निगरानी, ट्राफिक नियमको पालना तथा यात्रुको सुरक्षामा विशेष ध्यान दिएको छ। चोरी, डकैती, कालोबजारी तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि समेत प्रहरीको निगरानी बढाइएको छ। दसैंलाई सुरक्षित रुपमा मनाउने वातावरण सिर्जना गर्न यात्रा सहजकर्ता कक्ष खोली सकिएको छ। यसपालिको दसैंलाई अझै व्यवस्थित बनाउन सीसी क्यामरा, ड्रोन, के नाइन (के९) कुकुरलगायतका प्रविधिको प्रयोग गरिने काफ्ले बताउँछन्।

विगतका समयमा चाडपर्वमा हुने आपराधिक गतिविधिहरूलाई ध्यान दिएर यसलाई सम्बोधन गर्ने गरी प्रहरीले सुरक्षा योजना बनाएको छ। सोही सुरक्षा योजना अनुरूप प्रहरी परिचालन गर्ने सुरु गरिएको हो। यसपालिको दसैंमा प्रहरीले देशभर ५० हजार ४ सय ५८ जना प्रहरी परिचालन गर्न लागेको छ। जसमध्ये काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी अन्तर्गत ७ हजार ६६८ खटाइनेछन्।

कोशी प्रदेश अन्तर्गत ८ हजार १३३, मधेश प्रदेश अन्तर्गत ७ हजार २३०, बागमती प्रदेश अन्तर्गत ४ हजार ४९९, गण्डकी प्रदेश अन्तर्गत ५ हजार १८८, लुम्बिनी प्रदेश अन्तर्गत ७ हजार ९२१, कर्णाली प्रदेश अन्तर्गत ५ हजार ३१४ र सुदूरपश्चिम प्रदेश अन्तर्गत ४ हजार ५०५ जना जनशक्ति परिचालन हुनेछन्।

सीमा सुरक्षाका लागि प्रहरीले सादा पोसाकमा समेत प्रहरी परिचालन गरेको छ। सीमा क्षेत्रमा सीसी क्यामेरा तथा ड्रोनको प्रयोग गरी निगरानी बढाइएको छ। त्यसैगरी, प्रहरीले सीमा क्षेत्रमा तस्करीमा संलग्न हुनसक्ने व्यक्तिहरूको प्रोफाइलिङ गरी त्यस्ता व्यक्तिमाथि विशेष निगरानी राखेको छ। सीमा क्षेत्रमा २४ सै घण्टा प्रहरी तैनाथ रहने व्यवस्था मिलाइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन प्रहरीले अन्य सुरक्षा निकायसँग समेत आवश्यक समन्वय गरिरहेको छ।

आकस्मिक घटनामा तत्काल थप जनशक्ति परिचालन गर्न प्रहरी प्रधान कार्यालयलगायत महत्वपूर्ण स्थानमा आवश्यक प्रहरी ‘स्ट्यान्डबाइ’ अवस्थामा राखिने उनले बताए। साथै, सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउन नागरिक प्रहरी सहकार्यलाई विशेष प्राथमिकतामा राखेर स्थानीय समुदाय, व्यवसायी, यातायात व्यवसायी, बैंक तथा वित्तीय संस्था र सरोकारवाला निकायसँग निरन्तर सहकार्य तथा समन्वय गरिने छ।

देशभर १ हजार १ सय ६५ जनशक्ति परिचालन गरी देशभरका विभिन्न स्थानमा ४ सय ८ वटा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। सीमा नाकाका १ सय ८ स्थानमा हेल्प डेस्क स्थापनामा गरी थप ७ सय ५ जनशक्ति परिचालन भएका छन्। प्रहरीले दसैंका बेला बढी संवेदनशील मानिएका स्थानमा सुरक्षा निगरानी बढाएको छ। प्रहरीले पशुपतिनाथ, गुह्येश्वरी र दक्षिणकाली मन्दिर क्षेत्रका साथै न्यूरोड, असन, कोटेश्वर, कलंकी, नयाँ बसपार्क, बल्खु, सपिङ मल, सुनचाँदी पसल तथा बैंकहरूलाई संवेदनशील क्षेत्रका रूपमा पहिचान गरेको छ।

काठमाडौं उपत्यकामा कति प्रहरी परिचालन ?
यसपालिको दसैंको समयमा उपत्यका भरका लागि ८ हजार जना प्रहरी परिचालन गरिएको छ। जसमा काठमाडौंमा मात्रै ३ हजार ५०६ जना परिचालन गरिएको छ। सुरक्षित, मर्यादित र सुव्यवस्थित चाडपर्वका लागि परिचालन गर्नका लागि उक्त प्रहरी परिचालन गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता दान बहादुर थापा बताउँछन्।

दशैंको सुरक्षाका लागि काठमाडौं जिल्लामा १ हजार २४२ वटा सीसी क्यामरा, ३ वटा डोन र के ९परिचालन गरिएको छ। साथै, दसैंमा उपत्यका छाड्ने सर्वसाधारणहरू पनि धेरै हुन्छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले १ हजार ३ सयभन्दा धेरै जनशक्ति परिचालन गर्ने तयारी गरेको छ। उपत्यकाभित्र विभिन्न १० स्थानमा यात्रु सहायता कक्ष राख्ने तयारी छन्। अन्य मुख्य नाकामा समेत प्रहरीले निरन्तर चेकिङ गर्ने छ।

प्रवक्ता थापाका अनुसार प्रहरीले दसैंको बेलामा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा समुदायमार्फत सुरक्षा सन्देश प्रवाह गरी नागरिकमा सचेतना अभिवृद्धि गर्ने भएको छ।

त्यस्तै, सम्भावित अपराध तथा जोखिमको पहिचान गरी अग्रिम तयारी, नियमित गस्ती, निगरानी, चेकजाँच तथा संवेदनशील स्थानमा प्रहरीको उपस्थिति सुदृढ गर्दै अपराध हुन नदिन निवारक उपाय अवलम्बन गरिनेछ। कानुन विपरीतका गतिविधिमा संलग्न व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गरिने तथा आवश्यकताअनुसार चेक पोइन्ट, सर्च र विशेष अपरेसन सञ्चालन गरिने छ।

चाडपर्वहरूलाई लक्षित गरी यात्रु तथा सर्वसाधारण नागरिकहरूको सहजता, सुरक्षा एवं सेवालाई प्रभावकारी बनाउने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहतका विभिन्न १० स्थानहरूमा हेल्ड डेस्क स्थापना गरिएको छ।

गत वर्ष कति प्रहरी परिचालन गरिएको थियो ?
२०८१ सालको दसैँमा नेपालभर ६० हजार प्रहरी परिचालन गरिएको थियो। काठमाडौं उपत्यकामा मात्र करिब १० हजार प्रहरी परिचालन गरिएको थियो। त्यस्तै, गत वर्ष २०८२ मा पनि नेपाल प्रहरीले चाडपर्व सुरक्षाका लागि देशभर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो। २०८२ सालको दसैंमा काठमाडौं उपत्यकामा मात्र ६ हजार १०० भन्दा बढी प्रहरी उपत्यकाका तीनवटा जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) को सुरक्षाका लागि मैदानमा उत्रिएका थिए।