काठमाडौं – प्रहरीले २०८३ भदौ ८ गते दिउँसो करिब ३ बजे नयाँ पुलस्थित एक कोठाबाट चिनियाँ नागरिकमा यागुबाई पक्राउ गर्याे। उनले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा लागु औषधको कारोबार गर्छन् भन्ने सूचनाको आधारमा प्रहरी उनको कोठामा पुगेको थियो। तर, उनको कोठामा प्रहरी पुगेपछि अनुसन्धानले फरक मोड लियो। कोठामा खोजतलास गर्ने क्रममा प्रहरीले ३१ लाख हुण्डी रकम फेला पार्यो। विगत चार वर्षदेखि नेपाल आउने जाने गरेको बताउने यागुबाईको कोठामा खानतलासीका क्रममा प्रहरीले चीनबाट जारी भएको पासपोर्ट, आन्तरिक राजस्व विभागबाट जारी स्थायी लेखा नम्बर, परिचयपत्र, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा नगद जम्मा गरेको भौचर तथा नूर टेक सफ्टवेयरसम्बन्धी दर्ता प्रमाणपत्रलगायतका कागजातसमेत प्रहरीले बरामद गर्यो।
उनको कोठाबाट बरामद भएको सामानहरू कम्पनी रजिस्ट्रारको कार्यालयबाट प्राप्त विवरण तथा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एनआईसी एशिया बैंकबाट प्राप्त बैंकिङ्ग विवरणले उनलाई हुण्डी कारोबारमा संलग्न रहेको खुल्यो। प्रहरीकाअनुसार विदेशबाट रकम नेपालमा ल्याउने क्रममा औपचारिक बैंकिङ्ग तथा भुक्तानी प्रणालीभन्दा बाहिरको माध्यम प्रयोग गरिएको र त्यसरी प्राप्त रकम नेपाली रुपैयाँमा सञ्चित गरिएको थियो। यही आधारमा प्रहरीले यसलाई हुन्डी कारोबारसँग जोडेको हो।
यो त एउटा घटनाको उदाहरण मात्रै हो। नेपालमा हुण्डी कारोबारसम्बन्धी कसुर बढ्दै गएको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ। पछिल्लो आठ आर्थिक वर्षमा हण्डीसम्बन्धी उजुरीको सङ्ख्या मात्र बढेको छैन, उजुरीमा उल्लेख भएको कारोबार रकम र पक्राउ पर्ने व्यक्तिको सङ्ख्या बढ्दो क्रममा छ। प्रहरीकाअनुसार आर्थिक वर्ष २०७५/७६ मा हुण्डीसम्बन्धी एक वटा उजुरी परेको थियो। उक्त उजुरीमा ४१ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको कारोबार भएको थियो भने ६ जना पक्राउ परेका थिए।
आर्थिक वर्ष २०७६/७७ मा उजुरी बढेर २४ वटा पुगेको थियो। सो वर्ष १ करोड ८१ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबारसम्बन्धी उजुरी परेको थियो भने ३२ जना पक्राउ परेका थिए। आर्थिक वर्ष २०७७/७८ मा १६ वटा उजुरी परेकोमा २ करोड १७ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार रकम उल्लेख थियो। सो वर्ष २५ जना पक्राउ परेका थिए। यस्तै, २०७८/७९ मा १५ वटा उजुरी, १ करोड ८६ लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार र २३ जना पक्राउ परेका थिए।
आर्थिक वर्ष २०७९/८० मा उजुरी सङ्ख्या फेरि बढेर २१ वटा पुगेको थियो। उक्त वर्ष २ करोड ५२ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबारसम्बन्धी उजुरी परेको थियो भने ३१ जना पक्राउ परेका थिए। आर्थिक वर्ष २०८०/८१ मा उजुरी सङ्ख्या १७ वटा भए पनि कारोबार रकम भने उल्लेख्य रूपमा बढ्यो। सो वर्ष १३ करोड ४८ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबारसम्बन्धी उजुरी परेको थियो भने २८ जना पक्राउ परेका थिए।
साथै, आर्थिक वर्ष २०८१/८२ मा हण्डीसम्बन्धी उजुरी बढेर ३७ वटा पुगेको थियो। उक्त वर्ष ५ करोड ९२ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबारसम्बन्धी उजुरी परेको थियो भने ५१ जना पक्राउ परेका थिए। गत आर्थिक वर्ष २०८२/८३ मा भने पछिल्लो आठ वर्षकै सबैभन्दा धेरै ४८ वटा उजुरी परेको प्रहरी तथ्याङ्क छ। उक्त वर्ष २१ करोड ८७ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबारसम्बन्धी उजुरी परेको थियो भने ६४ जना पक्राउ परेका छन् ।
यसैबीच, हुण्डीसम्बन्धी कसुरमा पनि प्रहरीले कानुनबमोजिम उजुरी लिई अनुसन्धान गर्ने गरेको नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले बताउँछन्। अनुसन्धानका क्रममा प्रमाण परीक्षण गरी दोषी देखिएकालाई कानुनी कारबाहीका लागि सरकारी वकिलमार्फत सम्बन्धित निकायमा अभियोजन गर्ने प्रक्रिया निरन्तर रहेको उनले जानकारी दिए। त्यस्तै, बैंक तथा आधिकारिक रेमिट्यान्स च्यानल प्रयोग नगरी पैसा पठाउने जोखिमपूर्ण माध्यम हुण्डी हो।
यस्तो माध्यमबाट रकम पठाउँदा पैसा हराउने, ठगी हुने तथा कानुनी समस्या आउन सक्ने जोखिमपूर्ण हुने भएकाले गर्दा यसलाई गैर कानुनी मानिन्छ। हुण्डीमार्फत गरिएको कारोबारमा रकमको स्रोत प्रमाणित गर्न कठिन हुन सक्छ। कारोबारको आधिकारिक अभिलेख नहुँदा समस्या परेको अवस्थामा रकम फिर्ता लिन वा कानुनी उपचार खोज्नसमेत कठिनाइ हुन सक्छ।
यसको विपरीत, बैंक तथा इजाजतप्राप्त रेमिट्यान्स कम्पनीमार्फत पैसा पठाउँदा कारोबारको आधिकारिक रेकर्ड रहन्छ। रकम प्राप्त गर्ने व्यक्तिको पहिचानसमेत प्रमाणित गर्न सकिने भएकाले कारोबार तुलनात्मक रूपमा सुरक्षित र पारदर्शी हुन्छ। जसले गर्दा अवैध रकम जम्मा गर्न समेत यसको प्रयोग हुने भएकाले यसलाई गैर कानुनी बताइएको छ।
के हुन्छ कारबाही ?
मुलुकी अपराध संहिता,२०७४ ९फौजदारी कसुर सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन २०८०० मा को दफा १२५क मा हुण्डीसम्बन्धी कारोबार गर्न वा गराउन निषेध गरेको छ। दफा १२५ को उपदफा (१) मा कसैले पनि हुण्डीसम्बन्धी कारोबार गर्न वा गराउन नहुने उल्लेख गरिएको छ।
त्यस्तै, दफा १२५ को उपदफा २ ले कुनै व्यावसायिक कारोबारको वास्तविक हिसाबकिताब नदेखिने गरी रकम लिने वा दिने कार्यलाई समेत निषेध गरेको छ। साथै, उपदफा ३मा कसैले उपदफा १ वा २ बमोजिमको कसुर गरेमा बिगो र सोबाट बढे वा बढाएको सम्पत्ति समेत जफत गरी एक वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ।







About Us
प्रतिक्रिया