काठमाडौं – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशत अर्थात् ९३ अर्ब ५२ करोड रुपैयाँले बढेर ५९ खर्ब ५० अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा ०.९ प्रतिशत अर्थात् ४९ अर्ब २४ करोड रुपैयाँले बढेको थियो।
वार्षिक विन्दुगत आधारमा २०८३ भदौ मसान्तसम्म निजी क्षेत्रमा प्रवाहित कर्जा ७.३ प्रतिशतले वृद्धि भएको छ। भदौ मसान्तसम्म निजी क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रको हिस्सा ६२.५ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रको हिस्सा ३७.५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यी क्षेत्रको हिस्सा क्रमशः ६२.८ प्रतिशत र ३७.२ प्रतिशत थियो। समीक्षा अवधिमा वाणिज्य बैंकहरूको कर्जा १।७ प्रतिशतले बढेको छ। त्यस्तै, विकास बैंकहरूको कर्जा ०.६ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा १.४ प्रतिशतले वृद्धि भएको छ।
घरजग्गा धितोमा कर्जाको हिस्सा ६२.८ प्रतिशत
२०८३ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जामध्ये घरजग्गा धितोमा प्रवाहित कर्जाको हिस्सा ६२.८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो हिस्सा ६४.३ प्रतिशत थियो। त्यस्तै, कृषि तथा गैरकृषिजन्य चालु सम्पत्तिको सुरक्षणमा प्रवाहित कर्जाको हिस्सा १५।६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस्तो हिस्सा १५.१ प्रतिशत रहेको थियो।
खनिज क्षेत्रमा कर्जा वृद्धि, कृषि र वित्त क्षेत्रमा गिरावट
आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा खनिज क्षेत्रमा प्रवाहित कर्जा सबैभन्दा बढी १०.४ प्रतिशतले बढेको छ। यातायात उपकरण उत्पादन तथा मर्मत क्षेत्रमा ७.६ प्रतिशत र धातुजन्य उत्पादन, यन्त्र तथा विद्युतीय सामान उत्पादन तथा मर्मत क्षेत्रमा ७.३ प्रतिशतले कर्जा वृद्धि भएको छ। यस अवधिमा निर्माण क्षेत्रमा ३.७ प्रतिशत, सेवा उद्योगमा २.७ प्रतिशत, थोक तथा खुद्रा व्यापारमा २.५ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा २.१ प्रतिशत र औद्योगिक उत्पादन क्षेत्रमा १.९ प्रतिशतले कर्जा बढेको छ। उपभोग्य क्षेत्रमा प्रवाहित कर्जा भने ०.२ प्रतिशतले मात्र वृद्धि भएको छ। यसको विपरीत, वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा प्रवाहित कर्जा ४.७ प्रतिशतले घटेको छ। कृषि क्षेत्रमा प्रवाहित कर्जासमेत २.२ प्रतिशतले कमी आएको छ।
ट्रस्ट रिसिट कर्जामा ९.४ प्रतिशत वृद्धि
कर्जाका विभिन्न प्रकारमध्ये समीक्षा अवधिमा ट्रस्ट रिसिट (आयात) कर्जा ९.४ प्रतिशतले बढेको छ। विपन्न वर्ग कर्जा ४.७ प्रतिशत, आवधिक कर्जा १.६ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) १.४ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा १.४ प्रतिशत र मार्जिन प्रकृतिको कर्जा ०.८ प्रतिशतले वृद्धि भएको छ। तर, क्यास क्रेडिट कर्जा १.३ प्रतिशत, अधिविकर्ष कर्जा १.२ प्रतिशत र हायर पर्चेज कर्जा ०.१ प्रतिशतले घटेको छ। समग्रमा, समीक्षा अवधिमा निजी क्षेत्रमा बैंक कर्जाको विस्तार अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढेको देखिए पनि विभिन्न आर्थिक क्षेत्र तथा कर्जाका प्रकारअनुसार वृद्धिदरमा भिन्नता देखिएको छ।







About Us
प्रतिक्रिया