काठमाडौं – नेपाल राष्ट्र बैंकले दसैँमा बैंक नोटको जतनका साथ प्रयोग गर्न र डिजिटल भुक्तानीका माध्यमको प्रयोग बढाउन सर्वसाधारणलाई आग्रह गरेको छ। केन्द्रीय बैंकले वित्तीय सन्देश जारी गर्दै बैंक नोटको संरक्षणमा ध्यान दिन र सम्भव भएसम्म डिजिटल भुक्तानीका माध्यम प्रयोग गर्न अनुरोध गरेको हो।
दसैँमा दक्षिणा दिँदा बैंक नोट प्रयोग गर्नैपर्ने अवस्थामा जिम्मेवारीपूर्वक र सावधानीपूर्वक प्रयोग गर्न राष्ट्र बैंकले आग्रह गरेको छ। बैंक नोटमा केरमेट नगर्न, अबिर वा अन्य पदार्थ नलगाउन तथा नोट नच्यात्न, नभाँच्न र पिन वा स्टिच नगर्न पनि केन्द्रीय बैंकले अनुरोध गरेको छ।
त्यस्तै, बैंक नोटलाई सफा, सुक्खा र सुरक्षित स्थानमा राख्न राष्ट्र बैंकले सुझाव दिएको छ। नोटको उचित संरक्षणले यसको आयु बढाउन र नोट व्यवस्थापनमा लाग्ने खर्च कम गर्न सहयोग पुग्ने केन्द्रीय बैंकले जनाएकाे छ।
दसैँमा दक्षिणा दिँदा डिजिटल भुक्तानीका माध्यम प्रयोग गर्न सके बैंक नोटको प्रयोग कम हुनुका साथै नोटको संरक्षणमा समेत सहयोग पुग्ने राष्ट्र बैंकको भनाइ छ। केन्द्रीय बैंकले बैंक नोटको जतन गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै जिम्मेवार र सुरक्षित प्रयोगमा जोड दिएको छ।






About Us
प्रतिक्रिया