अविरल वर्षासँगै आएको पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता


काठमाडौं – बागलुङको तमानखोला, निसीखोला गाउँपालिका र ताराखोला गाउँपालिका लगायतका क्षेत्रमा असोज १० र ११ गते परेको अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा बागलुङ जिल्लाका विभिन्न स्थानमा १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। पहिरोमा परी तमानखोला गाउँपालिका–४, सन्तरकी ६५ वर्षीया उदिसरा विक र ५० वर्षीय हस्तवीर विकको मृत्यु भएको छ। सोही घटनामा ५२ वर्षीया पुनसरा विक बेपत्ता रहेकी हुन्।

यस्तै, तमानखोला गाउँपालिका–३, धनारकुकका ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको पनि पहिरोमा परी मृत्यु भएको छ। निसीखोला गाउँपालिका–६, सेलवाङका ५० वर्षीय सूर्यबहादुर घर्तीको पनि पहिरोमा परी मृत्यु भएको छ। यसैगरी, निसीखोला गाउँपालिका–३, कन्केखरियामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, १३ वर्षीय मनोज विक, ८ वर्षीय मुकेश विक र ३ वर्षीय निशान विक रहेका छन्। साथै,  ताराखोला गाउँपालिका–५, धरर्मरका ५९ वर्षीय मनबहादुर रोक्काको पनि पहिरोमा परी मृत्यु भएको छ। यसरी अविरल वर्षासँगै आएको पहिरोका कारण बागलुङमा हालसम्म १० जनाको मृत्यु र एक जना बेपत्ता भएका छन्। विभिन्न स्थानमा घर तथा भौतिक संरचनामा समेत क्षति पुगेको छ। विभिन्न निकायहरूसँगको समन्वयमा प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेको छ भने घटनाबारे थप विवरण सङ्कलन तथा अनुसन्धान भइरहेको छ।