पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो, यातायात प्रभावित


काठमाडौं – लगातार भइरहेको वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो र ढुङ्गा खस्दा सडक यातायात प्रभावित भएको छ।  जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार धादिङको बेनिघाट रोराङ गाउँपालिका तथा गजुरी गाउँपालिकाका विभिन्न स्थानमा सडक अवरुद्ध भएको हो।

बेनिघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिरमा माथिबाट ढुङ्गासहित पहिरो खसेपछि दुईतर्फी सडक अवरुद्ध भएको छ। अवरोध हटाउने कार्य भइरहे पनि पुनः ढुङ्गा खस्ने क्रम जारी रहेकाले सडक खुलाउने काम रोकिएको जनाइएको छ।

त्यस्तै, बेनिघाट रोराङ गाउँपालिका–१० को तिग्राङखानी र वडा– ९ को ज्यामिरेघाटमा दुईतर्फी सडक अवरुद्ध रहेको छ। दुवै स्थानमा माथिबाट ढुङ्गासहित पहिरो खसेका कारण यातायात प्रभावित भएको हो। साथै, गजुरी गाउँपालिका–२ स्थित परेवा भिरमा एकतर्फी सडक अवरुद्ध छ। उक्त स्थानमा खसेको ढुङ्गासहितको पहिरो हटाउने कार्य भइरहेको छ।

यसैगरी, बेनिघाट रोराङ गाउँपालिका–१० को ज्वाङखोलामा एकतर्फी सडक अवरुद्ध रहेको छ। माथिबाट ढुङ्गासहित पहिरो खसेपछि सडकमा अवरोध भएको र हटाउने कार्य जारी रहेको जनाइएको छ।