धमाधम लाभांश दिँदै म्यूचुअल फन्ड, ४६ मध्ये २६ वटाले गरे घोषणा

लगानीकर्तालाई लाभांश दिइरहँदा पनि मूल्य किन ‘अन्डर भ्यालु


काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचिकृत कम्पनीहरूले अहिले धमाधम लाभांश घोषणा गरिरहेका छन्। नेप्सेको तथ्यांक अनुसार सूचिकृत कम्पनीहरूले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हालसम्म झन्डै ५० कम्पनीहरूले लाभांश घोषणा गरिसकेका छन्। जसमध्ये म्युचुअल फण्ड अन्तर्गत मात्रै २६ वटा फण्डले लाभांश गरिसकेका छन्।

नेप्सेमा हाल म्यूचुअल फण्ड अन्तर्गत ४६ वटा कम्पनी सूचिकृत छन्। जसमध्ये २६ कम्पनीले लाभांश घोषणा गरेका छन्। म्यूचुअल फण्ड अन्तर्गतका कम्पनीहरूले शेयर मूल्य भन्दा बढी त लाभांश नै घोषणा गरेका छन्। म्यूचुअल फण्ड अन्तर्गतका कम्पनीको शेयर मूल्य ८ रुपैयाँदेखि १२ रुपैयाँ भित्र छ। तर, यस क्षेत्रका कम्पनीहरूले करिब ३ प्रतिशतदेखि १५ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन्।

जबकि, कम्पनीहरूको अंकित मूल्यभन्दा पनि शेयर मूल्य तल छ। जस्तै, हिमालयन ८०–२० ले मात्रै १५ प्रतिशत लाभांश घोषणा गरेको छ। जबकि, कम्पनीको शेयर मूल्य नै ११ रुपैयाँ आसपास छ। त्यस्तै, ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १, प्रभु स्मार्ट फण्ड र प्रभु सेलेक्ट फण्डको शेयर मूल्य १० देखि साढे ११ रुपैयाँ आसपास छन्। तर, यी तिन कम्पनीले आफ्ना इकाई धनीहरू १२ प्रतिशतका दरले प्रतिफल दिने भएका छन्।

यता कुमारी इक्विटी फण्ड, एनएमबि सुलभ इन्भेस्टमेन्ट फण्ड–२ र कुमारी धन वृद्धि योजनाको शेयर मूल्य १० रुपैयाँ भन्दा तल छ। तर, यी तीन कम्पनीले आफ्ना इकाई धनीलाई १० प्रतिशतका दरले प्रतिफल दिने भएका छन्।

यी हुन् १० रुपैयाँ भन्दा बढी मूल्य भएका कम्पनी
नेप्सेमा सूचिकृत म्यूचुअल फण्ड अन्तर्गतका अधिकांश कम्पनीको शेयर मूल्य १० रुपैयाँ आसपास छन्। सूचिकृत कम्पनीमध्ये केही कम्पनीको मात्रै शेयर मूल्य १० रुपैयाँ भन्दा बढी छ। सूचिकृत कम्पनीमध्ये हिमालयन ८०–२०, प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको शेयर मूल्य १० रुपैयाँ भन्दा बढी छ।

प्रभु स्मार्ट फण्डको शेयर मूल्य ११ रुपैयाँ आसपास छ। त्यस्तै, प्रभु सेलेक्ट फण्डको शेयर मूल्य करिब ११ रुपैयाँ र हिमालयन ८०–२० कम्पनीको शेयर मूल्य ११ रुपैयाँ आसपास छ। त्यसैगरी, ग्लोबल ब्यालेन्स्ड फण्ड–१, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को शेयर मूल्य १० रुपैयाँ आसपास छ।

९ रुपैयाँभन्दा कम शेयर मूल्य भएका कम्पनी
नेप्सेमा सूचिकृत फण्डमध्ये एनएमबि सुलभ इन्भेस्टमेन्ट फण्ड–२, सनराइज फस्र्ट म्युचुअल फण्ड, सनराइज फस्र्ट म्युचुअल फण्ड, त्यस्तै, सानिमा ग्रोथ फण्डको, कुमारी धन वृद्धि योजनाको शेयर मूल्य ९ रुपैयाँ आसपास रहेको छ। त्यस्तै, लक्ष्मी उन्नति कोष, आरबीबी म्युचुअल फण्ड–२, सिद्धार्थ इक्विटि फण्ड, आरबीबी म्युचुअल फण्ड १, लक्ष्मी भ्यालु फण्ड–२, सिटिजन्स म्युचुअल फण्ड–२ र कुमारी इक्विटि फण्डको समेत शेयर मूल्य ९ रुपैयाँ आसपास रहेको छ।

यता, एमबीएल इक्विटि फण्ड, सनराइज फोकस इक्विटि फण्ड, रिलायबल समृद्धि योजना, नबिल ब्यालेन्सड् फण्ड–३, सन्साइन ब्यूलचिफ फण्ड, सटिजन्स सुपर ३० म्यूचुअल फण्ड, मुक्तिनाथ म्यूचुअल फण्ड–१, एनआईसी एशिया ब्यालेन्सिट फण्डको समेत शेयर मूल्य ९ रुपैयाँ आसपास रहेको छ।

८ रुपैयाँभन्दा कम मूल्य भएका कम्पनी
ग्लोबल आईएमई समुन्नत योजना–२, एचएलआई लार्ज क्याप, नबिल ब्यालेन्सड् फण्ड–२, गरिमा समृद्धि योजना, एनआइबीएल स्टेबल फण्ड, एनआईबिएल ग्रोथ फण्ड, मेगा म्यूचुअल फण्ड १, एनआईसी एशिया सेलेक्ट फण्ड ३०, एनआईबीएल समृद्धि फण्ड–२, एनआईसी एशिया ग्रोथ फण्ड–२, कुमारी सबल योजनाको शेयर मूल्य ८ रुपैयाँ आसपास रहको छ। त्यस्तै, एनआईसी एशिया फिक्स क्याप फण्ड, एनएमबि हाइब्रिड फण्ड एल–१ को शेयर मूल्य ८ रुपैयाँ आसपास छ।

२५ म्यूचुअल फण्डको लाभांश
गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हालसम्म २६ वटा क्यूचुअल फण्डले लाभांश घोषणा गरेका छन्। हालसम्म सनराइज फोकस इक्विटी फण्डले ४.५ प्रतिशत, प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले १२ प्रतिशतका दरले लाभांश घोषणा गरेको छ। त्यस्तै, सानिमा ग्रोथ फण्डले ५ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ र एमबीएल इक्विटी फण्डका लगानीकर्ताले ८/८ प्रतिशतका दरले लाभांश घोषणा गरेका छन्।

सिद्धार्थ इन्भेष्मेन्ट ग्रोथ स्किम–३, एनएमबी सुलभ इन्भेष्मेन्ट फण्ड–२, कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजना गरी चार वटा म्युचुअल फण्डले आफ्ना इकाईधनीलाई १०/१० प्रतिशतका दरले लाभांश घोषणा गरेका छन्। त्यस्तै कुमारी सबल योजनाको २.९० प्रतिशत, एनएमबि सरल बचत फण्ड इ को ५.२५ प्रतिशत, कुमारी सुनौलो लगानी योजनाको १०.५ प्रतिशत र सिद्धार्थ व्यवस्थित लगानी योजनाको इकाईधनीहरूलाई ३ प्रतिशतका दरले लाभांश घोषणा गरेको छ।

त्यसैगरी, एनएमबि फिप्टीले ३.१५ प्रतिशत, एनएमबि हाइब्रिड एल–२ ले ४.५ प्रतिशत लाभांश घोषणा गरेको छ। त्यस्तै, मुक्तिनाथ म्युचुअल फण्ड–१ ले इकाईधनीलाई २.२० प्रतिशत लाभांश घोषणा गरेको हो। त्यस्तै, क्रमशः ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को १२ प्रतिशत, हिमालयन ८०–२० को १५ प्रतिशत, एनएमबि सरल बचत फण्ड इ र सिटिजन्स सुपर ३० म्यूचुअल फण्डको ५.२५ प्रतिशत लाभांश घोषणा गरेको छ। त्यसैगरी रिलायबल समृद्धि योजनाको ८.४२ प्रतिशत, नबिल ब्यालेन्सड फण्ड २ को ३.५ प्रतिशत, नबिल ब्यालेन्सड फण्ड ३ को २.५ प्रतिशत, आरविवि म्युचुअल फण्ड १ को २.७५ प्रतिशत र आरविवि म्युचुअल फण्ड २ ले इकाइधनीहरू ६ प्रतिशतका दरले प्रतिफल घोषणा गरेका हुन्।