काठमाडौं- ८ करोड ४२ लाख रुपैयाँ बिगो भएका १२ वटा बैंकिङ्ग कसुरसम्बन्धी मुद्दामा फरार रहेका शेरबहादुर मगर पक्राउ परेका छन्। ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–३२ बस्दै आएका ४८ वर्षीय मगरलाई प्रहरीले खोजतलासका क्रममा ललितपुरको कुपण्डोलबाट पक्राउ गरेको हो।
राजु खड्का समेतको जाहेरीले नेपाल सरकार वादी र मगर प्रतिवादी रहेका बैंकिङ्ग कसुरसम्बन्धी १२ वटा मुद्दामा उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालत र भक्तपुर जिल्ला अदालतबाट विभिन्न मितिमा फैसला भएको थियो।
अदालतको फैसलाअनुसार मगरलाई २ वर्ष १४ दिन कैद तथा ६२ लाख १० हजार १०० जरिवाना हुने ठहर भएको थियो। फैसला कार्यान्वयन हुन बाँकी रहँदा नै उनी फरार रहेका थिए।
मगरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत, बबरमहलमा उपस्थित गराएको थियो। उनले बिगो बापतको रकम बुझाउन नसकेपछि कारागार कार्यालय डिल्लीबजार, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका मगरविरुद्ध बैंकिङ्ग कसुरसम्बन्धी १२ वटा मुद्दा रहेका छन्।






About Us
प्रतिक्रिया